२०८१ मंसिर १० , सोमवार

चीनबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्न छलफल

सुनाखरी न्युज/ काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसै महिना पहिलो पटक अन्तर्राष्ट्रिय उडान अवतरण हुने सम्भावना प्रबल बन्दै गएको छ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एक कम्पनीले चीनबाट पोखरामा चार्टर्ड उडान सञ्चालन गर्ने विषयबारे छलफल गरिरहेको छ। तर उक्त कम्पनीले आधिकारिक रूपमा चार्टर्ड उडानका लागि अनुमति माग गरिसकेको भने छैन। ‘‘हाम्रो पोखरा कार्यालयमा ट्रान्स हिमालय (कम्पनी) भन्नेले त्यहाँ के के सुविधा छ, विमानस्थलका फिचर के छन् भनेर सोधेको रहेछ,’’ प्राधिकरणका उप महानिर्देशक जगन्नाथ निरौलाले भने।‘‘जुन महिनाको २१ र २२ तारिखमा (उडान) गर्ने गरी तयारी गरेको भन्ने बुझिएको छ। तर औपचारिक पत्र आइसकेको छैन।’’प्रारम्भिक छलफल अनुसार दुई दिनमा दुई वटा उडान हुने गरेर कुराकानी अघि बढाइएको छ।

 

आधिकारिकरूपमा अनुमति माग भएको अवस्थामा आफूहरू स्वीकृत गर्न तयार रहेको प्राधिकरणको भनाइ छ। जुन २३ र २४ तारिखमा पोखरामा हुन लागेको नेपाल-चीन फ्रेन्डशिप ड्रयागन बोट रेस फेस्टिभलका सहभागीहरू सवार गराएर चीनको चेङ्दुस्थित टिएन्फू अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान पोखराका लागि उड्ने विषयबारे हाल छलफल भइरहेको छ।