सुनाखरी न्युज/ नयाँदिल्ली ।
भारतको ओडिशामा गत शुक्रबार भएको रेल दुर्घटनामा तीन जना नेपाली नागरिकको निधन भएको खुलेको छ । दुर्घटनामा एक जना भने घाइते भएका छन् । ओडिशा टिभीको रिपोर्टअनुसार अहिलेसम्म चारजना नेपाली नागरिक रेल दुर्घटनामा परेको खुलेको हो । त्यसमध्ये ३ जनाको मृत्यु भएको र १ जना घाइते अवस्थामा उपचाररत छन् ।
कटकको एससीबी मेडिकल कलेजमा १५ वर्षीय बालक रामानन्द पासवानको उपचार चलिरहेको छ । उनको खोजीमा पर्सा जिल्लाबाट आएका उनका बुवा हरि पासवानसँग रामानन्दको भेट भइसकेको टीभीले आफ्नो रिपोर्टमा जनाएको छ ।
रामानन्द आफ्ना अन्य तीनजना आफन्तहरूसँग कामको खोजीका लागि ओडिशा आएका थिए । उनको साथमा रहेका तीन जनाको निधन भएको रिपोर्टमा उल्लेख छ । दुर्घटनामा नेपालीको मृत्यु भएकोबारे स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।