२०८१ पुष २४ , बुधवार

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको उद्घाटन,नयाँ धार्मिक र पर्यटकीय गन्तब्यको विस्तार

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। बुटवलको बमघाटबाट पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ बसन्तपुरसम्म जोडने गरी बनाइएको लुम्बिनी केबलकारको प्रधानमन्त्री दाहालले बिहीबार उद्घाटन गरे।

 

केबलकार उद्घाटन गर्न प्रधानमन्त्री दाहाल बसन्तपुर डाँडाँस्थित केबलकारको माथिल्लो स्टेशन पुगेर उद्घाटन गरेका हुन्। आइएमई समूहको लगानीमा यो केबलकार बनाइएको हो। जसमा २५ गोन्डुला छन्। दैनिक ६ हजार यात्रुलाई केबलकारले सेवा दिन सक्ने बताइएको छ। लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताए।

केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। आइएमई समूहले यसअघि नवलपुरको मौलाकालिका र काठमाडौंको चन्द्रागिरिमा पनि केबलकार सञ्चालनमा ल्याएको थियो।