२०८१ मंसिर ४ , मंगलबार

झोलुङ्गे पुलले फेरियो दैनिकी

सुनाखरी न्युज/ काठमाडौं । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै देखिन्छ । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पुलमा दैनिक दुई सय बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन् । स्थानीयले घाँस, दाउरा ल्याउन र बारीमा काम गर्न वारपारका लागि निर्माण गरिएको पुलमा पर्यटकको घुइँचो लाग्न थालेपछि स्थानीय पनि हर्षित बनेका छन् ।

 

बुर्तिबाङ–बोङ्गादोभान सडकखण्डको माथिपट्टि निर्माण भएको पुलले यात्रुलाई समेत आकर्षित गर्ने गरेको छ । गत वर्षसम्म वारपार गर्दा सास्ती भोग्दै आएका स्थानीयलाई यो पुल वरदान सावित भएको छ । वारि गाउँ र पारि खेतीयोग्य जमिन हुँदा स्थानीय वारपारमा निकै समस्या थियो । गत पुसमा निर्माण सुरु भएको पुल दुई महिनामै सम्पन्न भई चैतदेखि सञ्चालनमा आएको हो । पुल दुई सय ४३ मिटर लामो छ । पुल नबन्दा खोला वारपार गर्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले तीन मिनेटमै आउजाउ गर्न सकिन्छ । पुल निर्माणपछि ढोरपाटन नगरपालिका–३ को पुर्कोट, घोँसाखानी, सामा, बिसमरलगायतका गाउँका हजारौँ नागरिकलाई सहज भएको छ ।

 

आफ्नो बारी खोलापारि र घरवारिपट्टि हुँदा काम गर्न जाँदा पनि धेरै समय लगाउनुपर्ने बाध्यता पुल निर्माण भएपछि टरेको स्थानीय तिलकुमारी कुँवरले बताउनुभयो । हिउँदको समय जसोतसो खोला वारपार गरेर काम गरे पनि बर्खामा निकै समस्या भोग्दै आएको यस वर्षदेखि सहज हुने सुनाउनुभयो । पुलले गाउँलेको दैनिकी नै फेरिएको उहाँको भनाइ छ । “बर्खामा खोला उर्लिएर आउँछ, पारि बारीमा पुग्न धेरै समस्या थियो, वारि गाउँदेखि पारि गाउँ पुग्न बुर्तिबाङ बजारबाट चुरेलाबास हुँदै बारीमा पुग्नुपथ्र्यो, घर र बारी नजिकै भए पनि बीचमा खोला हुँदा धेरै अवरोध भएको थियो ।

 

भनेको बेलामा बारीमा पुग्न सकिँदैनथ्यो”, उहाँले भन्नुभयो, “यहाँ पुल बनेपछि त हामी धेरै खुसी भएका छौँ, हाम्रो आधा समस्या समाधान भएको छ, अब त बारीमा तरकारी फलाएर उत्तिखेरै टिपेर ल्याउन सकिन्छ, पहिले त बारीबाट तरकारी लिएर आउन झन्डै दुई घन्टा लाग्ने गथ्र्यो ।” स्थानीय कुलबहादुर नेपालीले अब खोला तर्दा कसैले ज्यान गुमाउन नपर्ने बताउनुभयो । उहाँले पहिले खोला वारपार गर्दा धेरैले ज्यान गुमाएको स्मरण गर्नुभयो । बुर्तिबाङ बजार नजिकै भए पनि यहाँ लामो समयसम्म पुल नबन्दा आफूहरूले खेतीपाती गरेर जीवन निर्वाह गर्नसमेत गाह्रो भएको उहाँले बताउनुभयो ।रासस