२०८१ माघ ३ , बिहिवार

 सरकार र राजनीतिक दलले बजेटमाथिको छलफल सार्थक बनाउनुपर्छ’

सुनाखरी न्युज/ काठमाडौं । सांसद हृदयराम थानीले बजेटमाथिको छलफललाई सार्थक बनाउन सरकार र राजनीतिक दलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटमाथिको छलफलमा उठेका विषय सम्बोधन नहुने भएका कारण पनि छलफलमा सांसदको रुचि घटेको हुनसक्ने बताउनुभयो । “विनियोजन हुन्छ, पैसा छुट्टिन्छ, पैसा पर्ने ठाउँमा परिहाल्छ, हामी छलफल गर्छौँ, हृस्वदीर्घ पनि परिवर्तन हुने होइन, त्यही भएर होला आज धेरै कुर्सी खाली रहेका छन् । यसमा किन रुचि छैन”, उहाँले भन्नुभयो ।

उहाँले छलफलमा सम्पूर्ण जनप्रतिनिधिको आकर्षण बढाउन सरकार र राजनीतिक दलले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । “सरकारले छलफललाई आकर्षणको केन्द्र बनाउने हो कि, सबै राजनीतिक दल बसेर यसको निक्र्योल निकाल्ने हो ?”, उहाँले भन्नुभयो । सांसद शेरबहादुर कुँवरले सांसदलाई बजेट पास गराउनेमा मात्र सीमित राखेको आभास भएको बताउनुभयो । “बजेट निर्माण गर्दा सांसदको भूमिका हुनुपथ्र्यो, सांसदले राखेका माग जनताका माग हुन्, बजेट निर्माणमा सरकार चुकेको छ”, उहाँले भन्नुभयो ।

सांसद मानवीर राईले बजेटमाथिको छलफलमा मन्त्री उपस्थित नभएर सिङ्गो संसद्माथि बेवास्ता गरिएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट विनियोजनमा प्रतिपक्षीमात्र नभई सत्तापक्षका सांसदमाथि पनि विभेद गरिएको पाइएको बताउनुभयो । सांसद गङ्गा कार्कीले सङ्घीयताको मर्मअनुसार बजेट विनियोजन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “वनसँग सम्बन्धित धेरै विषय सङ्घीय मन्त्रालयमार्फत गर्ने भनेर ल्याइएको छ, सबै विषय सङ्घमा केन्द्रित गर्दा प्रदेश र स्थानीय तहको भूमिका के भन्ने देखिएको छ ।” रासस