२०८१ मंसिर ४ , मंगलबार

सार्वभौम संसद भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस भन्दै प्रदर्शन

सुनाखरी न्युज/ काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सार्वभौम संसदले भ्रष्ट नेतालाई कारबाही गरोस, सार्वभौम संसद भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शिर्ष नेतासहित मूल दोषीहरुलाई कारबाही गर भन्ने आह्वानसहित जेठ ३२ गते संसद भवन अगाडि काठमाण्डौमा प्रदर्शन गरेको छ ।

यसैगरी चुरे ध्वस्त पार्ने सरकारी नीतिको शान्ति समाजले विरोध गरेको छ भने मानव अधिकार मैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन आग्रह पनि गरेको छ । प्रदर्शनमा चुरे ध्वस्त पार्न पाइदैँन ः मधेशमारा नीति चाहिदैँन, शिर्ष नेताहरुको सम्पत्ति छानविन खोइ?, भ्रष्टाचारी नेताको स्वर ठूलो किन?, सार्वभौम संसद राष्ट्रिय पञ्चायत जस्तो नबनोस, शिर्ष नेता भ्रष्ट छन ः नेपाली जनता त्रस्त छन, भ्रष्टाचारी नेताका कारण लोकतन्त्र खतरामा, भ्रष्टाचार विरोधी अभिलेख संसदको रेकर्डबाट किन हटाइयो?, पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

 

दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन शुरु हुनासाथ प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा डा. केदारनरसिह के.सी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, सचिव चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, अधिकारकर्मीहरु बलबहादुर गाहा मगर, दिवाकर पुडासैनी, गिता तिमल्सिना, भगवान पुडासैनी, उमा गौतम, रुपा गिरी, विकास थापा, तुलसीराम भण्डारी, दुर्गाप्रसाद सापकोटा, ईश्वरी नेपाल, उपेन्द्र कुइकेलसहित १६ अधिकारकर्मीलाई गिरफ्तार गरेको हो । गिरफ्तार अधिकारकर्मीहरुलाई नेपाल पुलिस क्लव भृकुटीमण्डपमा राखिएको छ ।