२०८१ माघ ३ , बिहिवार

भ्याटको बहानामा प्याजमा बढी मूल्य लिए कारबाही गर्ने वाणिज्य विभागको चेतावनी

सुनाखरी न्युज/ काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भ्याटको बहानामा व्यवसायीले प्याजमा बढी मूल्य लिए कडा कारबाही गर्ने चेतावनी दिएको छ।

 

विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै कानुनले तोकिदिएको दायित्व पूरा नगर्ने व्यवसायीलाई अनुगमन गरेर कडा कारबाही गर्ने चेतावनी दिएको हो। भ्याटको बहानामा व्यवसायीले प्याजको मूल्य अचाक्ली बढाएपछि विभागले विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएको हो।

 

विज्ञप्तिमा वस्तुको स्वभाविक मूल्यभन्दा बढी कायम गरेर बिक्री गर्ने कार्य उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार दण्डनीय अपराध रहेको स्पष्ट पारेको छ। ‘आगामी आर्थिक वर्ष २०८०–८१का लागि पेस भएको बजेटमा प्याजको आयातमा मूल्य अभिवद्धि कर लागेको बहानामा नियमित आपूर्ति भइरहेको वस्तुमा स्वभाविक मूल्यभन्दा उच्च मूल्यमा बेच्न पाइँदैन’, विज्ञप्तिमा भनिएको छ।

 

दैनिक आधारभूत आवश्यकताका वस्तुको आपूर्ति प्रणालीमा आवद्ध हुने पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा बिक्रेताले तोकिदिएको दायित्व बहन गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ। ‘पारदर्शी तरिकाले व्यवसाय सञ्चालन गर्न कानुनबमोजिम बिलबिजक जारी गरी कारोबार गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘दायित्व पूरा नगरेको भेटिए कडा कारबाही हुनेछ।’