सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले भोलि सोमबारदेखि महानगरभित्रका हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने भएको छ । मेयर बालेन शाहको सचिवालयले नगर प्रहरीलाई खटाएर भारतीय फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको जानकारी दिएको छ ।
मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।
यसबारे मेयर शाहले फेसबुकमार्फत जानकारी दिंदै लेखेका छन्, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’
उनले उक्त फिल्मबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएकोतर्फ पनि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । फिल्म आदिपुरुषबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय फिल्मलाई सोमबारदेखि निषेध गरिएको उनले जनाएका छन् ।
आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् । बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन् ।