सुनाखरी न्युज/ काठमाडौं । ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’ गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। नेपालमा भने सोमबारदेखि प्रदर्शन रोकिएको छ।
‘आदिपुरुष’ प्रदर्शन भएसँगै विवाद भइरहेको छ। काठमाडौं महानगरका मेयर बालेन शाहले फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद राखिएको भन्दै विरोध गरेका थिए। त्यस्तै, भारतमा पनि कमजोर भिएफएक्स र कमजोर संवादका कारण आलोचना भइरहेको छ। तर पनि फिल्मको कमाइमा खासै असर परेको छैन। फिल्मले विश्वभरबाट दुई दिनमा २४० करोड भारू कमाइ गरेको छ। १४० करोड भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १०० करोड कमाएको हो।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन हिन्दी संस्करणमा मात्रै ३७ करोड २५ लाख भारू कमाएको थियो। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार यो फिल्म ६ सय करोड भारूमा बनेको हो। पहिला ‘आदिपुरुष’ करिब ५ सय करोड भारूमा बनेको बताइएको थियो। पुनः भिएफएक्स भएसँगै फिल्मको बजेट बढेको हो। योसँगै ‘आदिपुरुष’ भारतकै महँगो फिल्म भएको छ। यो फिल्म हिन्दी तेलुगु, तमिल, मलयालम, कन्नड भाषामा प्रदर्शन भइरहेको छ। रासस