२०८१ आश्विन ८ , मंगलबार

‘अन्तरसम्बन्ध–२०८०’ प्रदर्शनीमा

सुनाखरी न्युज/ काठमाडौं । नेपालको ललितकला क्षेत्रका अग्रज कलाकारहरूको कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को आयोजनामा अग्रज कलाकार शशि शाह, कृष्ण मानन्धर, स्व इन्द्र प्रधान र वत्सगोपाल वैद्य अर्थात् स्किव–७१ का चित्रकला प्रदर्शनी सुरु भएको छ । अन्तरसम्बन्ध–२०८० नाम दिइएको उक्त प्रदर्शनी यही असार १२ गतेसम्म चल्नेछ ।

 

प्रदर्शनी अवलोकन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले भन्नुभयो, “हाम्रो देश नेपाल कलाको एउटा खानीजस्तो छ । त्यसमा पनि ललितकलाका असङ्ख्य विधाहरू छन् । सातवटा विधाको प्रचार गर्ने गछौैँ ।” उहाँले भर्खरै सम्पन्न राष्ट्रिय ललितकला प्रदर्शनी आफूले अवलोकन गर्दा नेपाली कलाको सिर्जनशीलता निकै माथि पुगेको आफूले पाएको स्मरण पनि गर्नुभयो ।

अग्रज कलाकार कृष्ण मानन्धरले आफूहरूले बम्बईबाट अध्ययन गरेर फर्किएपश्चात् समूह बनाएर कला गतिविधि गर्ने र आर्ट ग्यालरी खोल्ने काम गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “त्यस समय राम्रो आर्ट ग्यालरी थिएन । शशिविक्रम क्याम्पस प्रमुख हुनुहुन्थ्यो र उहाँले दिएको योगदान भुल्नु हँुदैन । इन्द्रजीले बूढानीलकण्ठमा आर्ट टिचरको रूपमा काम गर्नुभयो राज दीपेन्द्रलाई समेत पठाउनुभयो । त्यो अवस्था थियो त्यस समय तर अहिले धेरै कलाकार जन्मिसकेकामा खुसी लागेको छ ।”

 

सङ्गठनबाटै कलाको इतिहास बनाउनुपर्छ भनेर शशि शाह, वत्सगोपाल वैद्य, कृष्ण मानन्धर, इन्द्र प्रधान एक ढिक्का भएर आएको अग्रज कलाकार शशि शाहले बताउनुभयो । नेपालको कलाक्षेत्र स्किव–७१ बाटै सङ्गठनात्मकरूपमा जानुपर्छ जनाउँदै उहाँले नयाँ पुस्तालाई सचेतसमेत गराउनुभएको छ । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले अग्रज कलाकारको सिर्जना प्रदर्शनीले निरन्तरता दिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अग्रज र दिवङ्गत कलाकारको प्रदर्शनीको सुरुआत गरेका छौँ । आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिन्छौँ ।”

 

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानले स्थापनाकालदेखि नै कलाको उत्थानका लागि विविध गतिविधि गर्दै आएको बताउँदै आफूहरूले अग्रजले देखाएको बाटो पहिल्याएको धारणा राख्नुभयो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकला पढ्दाका गुरुहरूले दिएको मार्गदर्शनकै शिक्षाले आफूले प्रतिष्ठानजस्तो संस्थाको जिम्मेवारी पाएको र विगतका विरासतसँग अग्रजको भूमिकालाई जोडेर अगाडि बढाउन जरुरी भएको धारणा राख्नुभयो । रासस