२०८१ पुष २८ , आइतवार

कागतीका बेफाइदा पनि छन्, यस्ता अवस्थामा त खानै हुदैन

सुनाखरी न्युज / काठमाडौं –  कागती बहुउपयोगी फल हो । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ । तर, यसको अत्यधिक सेवन गर्नाले हाम्रो शरीरलाई नकारात्मक असर पनि गर्न सक्छ । कागतीमा पाइने सिट्रस एसिडले दाँतलाई हानी पुर्‍याउन सक्छ ।

 

कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै सेवन गर्नाले शरीरमा गएर पत्थर बन्न सक्छ । यस्तो क्रिस्टलाईज अक्सलेटले मिर्गौला र पित्ताशयको थैलीमा स्टोनको रूप लिन सक्छ । कागती पानी पिउनाले बारम्बार पिसाब आउने समस्या हुन्छ, जसले शरीरमा पानीको कमी हुन सक्छ र डिहाइड्रेसन हुन्छ ।

कागतीमा हुने सिट्रस एसिडले दाँतलाई असर गर्छ । यदि तपाईंलाई कागती पानी पिउन छ भने सकभर स्ट्रले पिउने गर्नुहोस् । यसो गर्नाले कागती पानीले दाँतलाई छुन सक्दैन । अन्यथा दाँतमा तातो चिसो लाग्ने वा झन्झनाहट हुने समस्या हुन सक्छ ।

यदि तपाई दैनिक कागतीको रस वा अमिलोको अत्याधिक सेवन गर्नुहुन्छ भने तपाईंको पेट खराब हुन सक्छ, किनभने कागतीमा एसिडको मात्रा धेरै हुन्छ । हाम्रो पेटले त्यसलाई पचाउन सक्दैन र पेट दुख्ने, उल्टि आउने सम्भावना हुन्छ ।