२०८१ पुष १० , बुधवार

किसानलाई तत्काल रासायनिक मलको प्रबन्ध गर्न माग

सुनाखरी न्युज/ काठमाडौं । विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथिका छलफल जारी छ । आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षमाथिको छलफल सकिएको छ ।

छलफलमा भाग लिँदै सांसद लालवीर चौधरीले खेतीपातीको समयमा रासायनिक मल नपाएकाले तत्काल उपलब्ध गराउन माग गर्नुभयो । रासायनिक मलका लागि सरकारले रु ३० अर्ब बराबरको बजेट विनियोजन गरिएकाले त्यसलाई उचितरुपमा मल आयातको प्रबन्ध गर्न माग गर्नुभयो ।

सांसद अमरेशकुमार सिंहले काठमाडौँ उपत्यकाभित्र खुल्ला स्थान क्रमशः मासिँदै गएकाले मानव जीवन प्रभावित भएकाले अब बन्ने स्मार्ट सिटीलाई भने व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद अर्जुननरसिंह केसीले सहरी क्षेत्रका विकासका लागि नगर विकास एकीकृत परियोजना विगतमा नै सुरु भएको तथ्य पेश गर्दै सो योजनामा निरन्तरता नपाएकाले सहरी क्षेत्रमा विकास निर्माणको काम प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले सीमान्तकृत, उपेक्षित समुदायको सामुदायिक सुरक्षा, न्यायको प्रत्याभूत गराउनुपर्नेमा जोड दिनुभयो ।

सांसद लेखनाथ दाहालले आन्तरिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले विकासको नयाँ मोडल तय नगरिकन नेपाली जनताको अपेक्षा पूरा हुन नसक्ने बताउनुभयो ।

सांसद रामहरि खतिवडाले बजेट निर्माण प्रक्रियालाई नयाँ आधारमा अगाडि बढाउनुपर्ने बताउनुभयो । मुलुकभर विभिन्न प्रकृतिका भवन र टावर निर्माण भए पनि त्यसको प्रयोग हुन नसक्दा त्यत्तिकै बसेको स्पष्ट पार्दै निर्माण भएका संरचनाको सदुपयोग गर्न बनाउन आग्रह गर्नुभयो ।

सांसद राजेन्द्रकुमार राईले जनतालाई खुसी बनाउने र जनप्रतिनिधिको अनुभव गराउने हो भने विधिमा रहेर सांसदलाई उल्लेख्य मात्रामा बजेट उपलब्ध गराउनुपर्ने आफ्नो मान्यता रहेको बताउनुभयो । उहाँले सहरी विकास मन्त्रालयका लागि आफूले उपलब्ध गराएको कुनै पनि योजना समावेश नभएकामा गुनासो गर्नुभयो ।

सांसद नारायणी शर्माले बजेट विनियोजन व्यवस्थित र प्रभावकारी हुन नसकेको भन्ने गुनासो व्यापकरुपमा उठेकाले त्यसलाई उचित सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई विशेष जोड दिनुपर्ने धारणा राख्नुभयो । सांसद रणेन्द्र बराइलीले आम नेपालीले सहजरुपमा पिउने पानीको प्रबन्ध गर्ने गरी बजेटको प्रबन्ध गर्नुपर्ने बताउनुभयो ।

सांसद योगेन्द्र मण्डल, अनिता देवी, रामप्रकाश चौधरी, बिजुला रायमाझी, रामनाथ अधिकारी, तारा लामा तामाङ, सीताकुमारी राना र बलराम अधिकारीले बजेटका विभिन्न पक्षका बारेमा आफ्ना धारणा राख्नुभएको थियो । प्रतिनिधिसभाको बैठक जारी छ । रासस