२०८१ माघ २ , बुधवार

 बालेन्द्र शाहकी शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा

सुनाखरी न्युज काठमाडौं । शैक्षिक मेला, फिल्म बन्द गराउनेलगायतका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन् ।

 

काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्यालको नै मुख्य भूमिका थियो । तर अहिले शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेसम्मका गतिविधि लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानको आधारमा भएको अर्यालले बताएकी छन् ।

 

‘लोकतन्त्र भनेको सबै पक्षसँग समन्वय,छलफल र सहकार्य आवश्यक हुन्छ,’ उनले भनिन्,’ हिसानले शिक्षा मन्त्रालयबाट अनुमति लिएर मेला लगाएको थियो । कार्यक्रम सञ्चालन गर्ने बेलामा नगर प्रहरी पठाएर जबर्जस्ती हटाउन लगाउने होइन । लिखित भए पनि ‘डिग्निफाइड क्लोजर’ हुन्छ नि !’ निजी शैक्षिक संस्थाहरूलाई नियमन गर्ने हो तर त्यसरी लथालिंग छाड्ने अवस्था नरहेको उनले बताइन् ।