२०८१ मंसिर १२ , बुधवार

भारत–अमेरिका साझेदारीले दिगो, समावेशी विश्वव्यापी वृद्धिको लागि चालु इन्जिनको रूपमा काम गर्नेःप्रधानमन्त्री मोदी

सुनाखरी न्युज  / काठमाडौं –  भारत र संयुक्त राज्य अमेरिका बीचको साझेदारीले दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिनको रूपमा काम गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । अमेरिकाको भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले बुधबार नेशनल साइन्स फाउन्डेशनमा ‘भविष्यका लागि सीप’ कार्यक्रमलाई सम्बोधन गर्दै सो टिप्पणी गर्नु भएको हो ।प्रधानमन्त्री मोदीले दुई देशबीचको बढ्दो गतिलाई कायम राख्न प्रतिभाको व्यवस्थापन र आदानप्रदानको आवश्यकतामा जोड दिनुभएको छ ।

 

“विकासको गतिलाई कायम राख्न भारत र अमेरिकालाई प्रतिभाको पाइपलाइन आवश्यक छ । एकातिर अमेरिकासँग उच्चस्तरीय शैक्षिक संस्था र उन्नत प्रविधि छन्, अर्कातर्फ भारतमा विश्वको सबैभन्दा ठूलो युवा कारखाना छ । त्यसैले मलाई विश्वास छ – भारत–अमेरिका साझेदारी दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिन साबित हुनेछ,” प्रधानमन्त्री मोदीले भन्नुभयो । यसअघि बुधबार वाशिङ्टन डिसी पुग्नुभएका प्रधानमन्त्री मोदीलाई एयरबेसमा औपचारिक स्वागतका साथै गार्ड अफ अनर दिइएको छ । प्रधानमन्त्री मोदी त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिलाले आयोजना गर्नु भएको राजकीय रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

 

प्रथम महिला जिल बाइडेनको साथमा प्रधानमन्त्री मोदीले भर्जिनियाको अलेक्जान्ड्रियामा रहेको नेशनल साइन्स फाउन्डेशनको भ्रमण गर्नु भएको हो । सो अवसरमा उहाँहरूले महत्त्वपूर्ण उद्योगमा सफल पार्नका लागि सान्दर्भिक सीप हासिल गरिरहेका दुवै देशका विद्यार्थीसँग कुराकानी गर्नु भएको थियो ।सो अन्तरक्रियामा नयाँ शिक्षा नीति लागू गर्ने, शिक्षा र सीपलाई एकीकृत गर्ने जस्ता विद्यार्थीको उज्ज्वल भविष्य सुरक्षित गर्न भारत सरकारले गरेका पहल माथि प्रकाश पारिएको थियो । विद्यार्थीको उज्ज्वल भविष्यका लागि भारत सरकारले गरेको कामको चर्चा गर्दै प्रधानमन्त्री मोदीले नयाँ शिक्षा नीति ल्याइएको र शिक्षा र सीपलाई एकीकृत गर्ने योजना बनाएको बताउनु भएको छ । स्किल इन्डिया अन्तर्गत भारतले आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन, ड्रोनको क्षेत्रमा “१५ अर्ब मानिस”लाई दक्ष बनाएको छ ।

 

उहाँले विद्यालयमा भारत सरकारले १० हजार अटल टिङ्करिङ ल्याब स्थापना गरी बालबालिकालाई आविष्कारमा सङ्लग्न हुने सुविधा उपलब्ध गराएको पनि जानकारी दिनुभएको छ । प्रधानमन्त्री मोदीले अमेरिकी विद्यार्थीलाई भारत आउन आग्रह गर्दै अमेरिकाका सयौँ शिक्षक पहिले देखिनै भारतमा रहेको र प्राविधिक साझेदारीमा भाग लिइरहेको बताउनु भएको छ । भारत–अमेरिका शिक्षक आदानप्रदान कार्यक्रमको प्रस्ताव गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “हामी भारत–अमेरिका शिक्षक आदानप्रदान कार्यक्रम शुरु गर्ने बारे सोच्न सक्छौँ । वैज्ञानिकको सङ्लग्नता बढाउन यो अत्यन्तै सान्दर्भिक छ ।” रासस