२०८१ पुष २५ , बिहिवार

ट्रेकिङ जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस

 

सुनाखरी न्युज / काठमाडौं –  अहिले नेपालमा बिदा मनाउन ट्रेकिङ जानेको संख्या बढ्दो छ । महिनाको एकपटक ट्रेकिङ जाने परम्परा विकास हुँदै छ ।ट्रेकिङले शरीरमा ताजगी र स्फूर्ति पैदा हुनुका साथै फरक अनुभूति गराउँछ । ट्रेकिङका लागि खासगरी उच्च हिमाली र पहाडी क्षेत्र, वनजंगल तथा नदी, तालमा जाने गरिन्छ । यस्ता ठाउँमा ट्रेकिङ जाँदा रमाइलो हुन्छ । तर, सचेत नहुँँदा विभिन्न समस्या पनि आउन सक्छन् । त्यसैले ट्रेकिङ सफल र सुरक्षित बनाउन पूर्वतयारी गर्न आवश्यक हुन्छ ।

यी कुरामा ध्यान दिनुस : –

– ट्रेकिङ जान लागेको ठाउँबारे पूर्वजानकारी लिन जरुरी हुन्छ । त्यहाँको भौगोलिक अवस्था र कठिनाइबारे सजग भइएन भने ठूलो  विपत्ति आइपर्न सक्छ । कुनै प्राकृतिक दुर्घटना भए नभएको थाहा भए अझ राम्रो हुन्छ । त्यसले सम्भावित जोखिम कम गराउँछ ।  अर्को, त्यसअघि ती स्थानमा ट्रेकिङ गएका मान्छेसँग सल्लाह लिएर आफूले त्यसअनुरूप तयरी गर्दा झन् राम्रो हुन्छ । यात्राका लागि  पदमार्ग पनि थाहा हुनुपर्छ । यसका लागि ‘गुगल म्याप’बाट पनि सहयोग लिन सकिन्छ ।

-नेपालको भौगोलिक वनावट फरक–फरक छ । कतिपय ठाउँमा छिनछिनमै मौसम परिवर्तन भइरहन्छ । त्यसमा पनि हिमाली र   पहाडी क्षेत्रमा झनै छिटो मौसम परिवर्तन भइरहन्छ । त्यसैले पनि मौसमसम्बन्धी पूर्वजानकारी लिएर मात्र यात्रामा जानुपर्छ, जसले   गर्दा सम्भावित दुर्घटनाबाट बच्न सकियोस् ।

-ट्रेकिङ जान शारीरिक रूपमा पूर्ण स्वस्थ हुनुपर्छ । शारीरिक रूपमा पूर्ण रूपमा स्वस्थ भएन भने ट्रेकिङ गर्न सम्भव छैन । अर्को,   ट्रेकिङ जानुअघि ‘मर्निङ वाक’ गर्दा अझ राम्रो हुन्छ । एक साताअघि सामान्य ‘एक्सरसाइज’ गर्दा शरीर फुर्तिलो हुन्छ । जसले ट्रेकिङका लागि फाइदा पुर्‍याउँछ ।

– खासगरी, उच्च हिमाली क्षेत्रमा जाँदा लेक लाग्ने   लगायत अन्य विभिन्न स्वास्थ्य समस्या हुन सक्छन् । चार हजार मिटरभन्दा माथि   लेक लाग्न सक्छ । मौसमका कारण पनि स्वास्थ्यमा समस्या आउन सक्छ । त्यसैले आफ्नो स्वास्थ्यप्रति सजग र सचेत हुनुपर्छ ।

– हिमाली क्षेत्रमा हावा चलिरहने भएकाले टाउको दुख्न सक्छ । त्यसका लागि सिटामोललगायतका औषधि बोक्नुपर्छ ।

– आवश्यक   सामान सिजनअनुसार ट्रेकिङ गइन्छ । त्यसैले सिजनअनुसार आफूलाई चाहिन सक्ने सामान लान जरुरी हुन्छ । फेरि,   अनावश्यक   सामान राखेर झोला भारी पनि बनाउनुहुँदैन । तौल धेरै भएको झोला पनि बोक्नुहुँदैन । ट्रेकिङ गरेको एक–दुई दिनमै    ज्यान भारी हुने  भएकाले कम तौल भएको भारी बनाउनुपर्छ ।

– ट्रेकिङ सुज, क्याप, चस्मा, लठ्ठी, पानीको बोतल, सनब्लक क्रिम, बडीलोसनलगायतका सामान अनिवार्य लानुपर्छ । यसबाहेक   हलुका लुगा, ज्याकेट पनि लैजान आवश्यक छ ।

-अग्लो तथा चिसो स्थानमा ट्रेकिङ जाँदै हुनुहुन्छ भने ‘डाउन ज्याकेट’ बोक्नुपर्छ । चार–पाँच दिनका लागि ट्रेकिङ गर्दै हुनुहुन्छ भने धेरै ठूलो झोला आवश्यक पर्दैन । तर, १०–१२ दिनको ट्रेकिङ गर्दै हुनुहुन्छ भने ३५ देखि ६० लिटरसम्मको झोला आवश्यक पर्छ ।

-कतिपय ठाउँमा होटेल–रेस्टुरेन्ट उपलब्ध हुँदैनन् । त्यसैले यस्ता ठाउँमा जाँदा आफूलाई चाहिन सक्ने खानेकुरा बोक्न बिसर्नुहुँदैन ।  त्यस्तै, मौसम परिवर्तन भइरहने भएकाले बिरामी पर्नेसमेत सम्भावना रहन्छ । त्यसैले खानेकुरामा विशेष ध्यान दिनुपर्छ ।

-हाइजेनिक खानेकुरा खाइरहने गर्नुपर्छ । सकेसम्म इनर्जी दिने चकलेटहरू बोक्दा राम्रो हुन्छ । किनभने धेरै भारी पनि हुँदैन, खाँदा  पनि इनर्जी दिन्छ ।