२०८१ पुष २५ , बिहिवार

ढोरपाटन देउरालीमा वन्यजन्तुको मूर्ति

सुनाखरी न्युज/ काठमाडौं । नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनमा आउने आगन्तुकलाई आकर्षित गर्न देउरालीमा वन्यजन्तुको मूर्ति निर्माण गरिएको छ । ढोरपाटन नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाखले उपत्यका प्रवेशद्वार देउरालीमा झारल र नाउरको मूर्ति बनाइएको हो । नाउर र झारलको सिकार ढोरपाटन आरक्षमा मात्रै गर्न पाइने हुँदा ती मूर्ति बनाइएको नगरपालिकाले जनाएको छ । सिकार आरक्षमा देउराली हुँदै पुगिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले देख्ने गरी मूल प्रवेशद्वारमै वन्यजन्तुको मूर्ति राखिएको नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताउनुभयो ।

सिकार आरक्षलाई चिनाउनका लागि ‘सिम्बोल’ का रुपमा चिनाउन मूर्ति राखिएको उहाँको भनाइ थियो । अहिलेसम्म प्रवेशद्वारमा सिकार आरक्ष चिनाउने खालका कुनै पनि संरचना नबनेकाले यसपालि नगरपालिकाले सुरुआत गरेको उपप्रमुख कायतले बताउनुभयो ।

प्रवेशद्वारलाई व्यवस्थित बनाउँदै आगन्तुकलाई सहजरुपमा उपत्यका पुग्ने वातावरण बनाइने भएको छ । सडकका कारण ढोरपाटन पुग्ने पर्यटकले समस्या भोग्नु परेकाले सालझन्डी–ढोरपाटन सडक आयोजना कार्यालय र निर्माण कम्पनीलाई पटक–पटक काम गर्न आग्रह गरिरहेको उल्लेख गर्दै उपप्रमुख कायतले भन्नुभयो, “ढोरपाटन जति सुन्दर छ प्राकृतिकरुपमै छ, अहिलेसम्म त्यसलाई थप व्यवस्थित र थप सुन्दर बनाउने काम हुन सकेको छैन, हामीहरुले कोसिस गरिरहेका छौँ, यसपालि दुईवटा वन्यजन्तुको मूर्ति राखेका छौँ, अहिले जुन ठाउँमा मूर्ति रहेको छ, त्यो ठाउँ ढोरपाटन पुग्ने जो कोही मूर्ति देखेर÷हेरेर मात्रै बल्ल उपत्यकामा प्रवेश गर्ने हुँदा प्रवेशद्वारमा मूर्ति बनाएका छौँ, यसले ढोरपाटनमा पर्यटक आकर्षण गर्न भूमिका निर्वाह गर्नेछ ।”

 

उक्त मूर्ति ललितपुरस्थित लुम्बिनी स्टोन कार्भिङ प्रालिले निर्माण गरेको हो । उपप्रमुख कायतले सडकका कारण ढोरपाटन आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन नसकेको बताउनुभयो । वर्षौं अगाडि ट्र्याक खुलेको सालझन्डी–ढोरपाटन सडक अहिलेसम्म स्तरोन्नति हुन नसक्दा स्थानीयवासीलाई समेत आवतआवजमा समस्या भएको उहाँको भनाइ थियो ।रासस