सुनाखरी न्युज / काठमाडौं – आफ्नो शरीरको वजन बढेको छ कि घटेको भन्ने कुरा थाहा पाउनका लागि हामी नियमित रुपले आफ्नो वजन नाप्ने गर्छौं । घरमै भएको वेट मेसिनले सजिलै आफ्नो वजन नाप्न सकिन्छ । घरमै वेट मेसिन भएपछि दुब्लाउन चाहने मानिसहरु दिनमा धेरै पटक आफ्नो वजन नापिरहेका हुन्छन् ।
यद्यपि, दिनमै धेरै पटक वजन जाँच गर्नुभन्दा दिनको एक पटकमात्र जाँच्नु उचित हुन्छ । वजन नाप्नका लागि बिहानको समय सबैभन्दा उपयुक्त मानिन्छ । बिहान नित्य कर्मपछि आफ्नो वजन जाँच गर्नु उपयुक्त हुन्छ । बिहान सधैँ खाली पेटमा मात्र वजन जाँच्नु राम्रो हुन्छ । पेट सफा भएपछि सबैभन्दा पहिला वेट मशीनमा उभिएर आफ्नो वजन लिएर मात्र बिहानको चिया अथवा बे्रकफास्ट खानु पर्छ ।
बिहानको तुलनामा दिउँसो अथवा साँझ वजन जाँच गर्दा दुबै पटकको वजनमा आधा केजीदेखि एक किलोसम्मको अन्तर हुन्छ ।साँझसम्म हामीले कम्तिमा दुई पटक खाजा–खाना खाइसकेका हुन्छौं । त्यसैले वेटिङ मेसिनले हाम्रो सही वजन देखाउँदैन ।