२०८१ मंसिर १५ , शनिवार

परीक्षाको नतिजा परिवर्तन गरी लाइसेन्स बाँड्ने तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुनाखरी न्युज/ काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सवारी चालक अनुमतिपत्रका लागि लिइएको परीक्षाको नतिजा हेरफेर गरेको कसुरमा यातायात व्यवस्था कार्यालय कैलाली (धनगढी) का तत्कालीन कार्यालय प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यातायात कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाही, सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध शुक्रबार अख्तियारले कैद र जरिवानाको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । आरोपी तीनैजनाले आव २०७८-७९ को अवधिमा चालक अनुमतिपत्रका लागि लिइएका लिखित र प्रयोगात्मकतर्फ नतिजा हेरफेर गरेको खुलेको छ ।

कार्यालय प्रमुख शाहीले कुल ४ सय ६३ जनाको परीक्षा नतिजा हेरफेर तथा परीक्षामा संलग्नै नभएकालाई उत्तीर्ण गराई अनुमतिपत्र दिएको खुलेको छ । त्यसका लागि शाहीले आफू मातहतका दुई कम्प्युटर अपरेटरलाई परिचालन गरेको पनि खुलेको छ । तीनैजनालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ मा उल्लेखित ‘सरकारी कागजात सच्याएको’ कसुरमा ३ महिनादेखि १ वर्षसम्म कैद र ५ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवाना मागदाबीसहित प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

सरकारी कागजात सच्याएको कसुरमा दफा १३ मा उल्लेखित ‘प्रश्नपत्रको गोपनीयता भंग गर्ने वा परीक्षाको परिणाम फेरबदल’को गर्नेमाथि कैद र जरिवानाको सजाय हुने उल्लेख छ ।

अनुमतिपत्रका लागि लिइएको फिल्ड परीक्षा नतिजा सच्याएर कार्यालय प्रमुख शाही र कम्प्युटर अपरेटरको मिलेमतोमा अनुत्तीर्ण र अनुपस्थित व्यक्तिलाई उत्तीर्ण गरिएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।