सुनाखरी न्युज / काठमाडौं – डाक्टर हुँ भन्दै युवतीसँग ७८ लाख बढी ठगी गर्ने एक जना पक्राउ परेका छन् । नक्कली डाक्टर बनेर युवतीसँग विहे गर्ने बहानमा ७८ लाख ठगी गरेका आरोपमा कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई भक्तपुर कौशलटार बस्ने मातृकाप्रसाद जैशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।जैसी प्रहरी थुनामा पुगेको यो पहिलो पटक भने होइन । यसअघि आफ्नै प्रेमीकालाई झुक्काएर आत्महत्या गर्न बाध्य पारेको अभियोगमा उनीविरुद्ध कैलाली जिल्ला अदालतले ६ वर्ष कैदसजाय नै तोकेको थियो । उनले सो कुसर भुक्तानसमेत गरिसकेका छन् ।
त्यतिबेला दुई युवतीलाई प्रेमजालमा पारेको र पछि आत्महत्या पार्न बाध्य पारेको मुद्दामा उनी जेल परेका हुन् । धनगढीको शिवपुरी जंगलमा दुई युवतीको शव एक साथ भेटिएको थियो । आत्महत्या दुरुत्साहन अभियोगजस्तो गम्भीर कसुरमा जेल पुगेका जैशीमा जेलमुक्त हुँदा पनि पराधको पश्चाताप भने छैन । उनी फेरि प्रेमिका बनाएर ठगी धन्दा चलाउन खोज्दा प्रहरी थुनामा पुगेका हुन् । काठमाडौं प्रहरीका अनुसार जैशीले नक्कली डाक्टर बनेर दुई युवतीलाई प्रेमजालमा पारेर ठगी गरेको खुलेको हो ।
प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार करिब १८ महिनाको अवधिमा उनले ती युवतीलाई प्रेमजालमा पारेर सो रकम ठगी गरेका थिए । ‘एप्रोन लगाएर भिडियो कल गर्ने गरेका रहेछन्, म वीर अस्पतालमा ड्युटीमा छु भनेर ठगी गर्ने रहेछन’, प्रहरी प्रवक्ता एसपी रिजालले भने । प्रेम जालमा पारेपछि उनले विभिन्न बहाना बनाएर पैसा माग्ने गरेको युवतीले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ । प्रहरीका अनुसार बागमती प्रदेश ०२७ च २८८४ नम्बरको गाडी चढ्ने गरेको र सो गाडी किन्न ती युवतीसँग उनले ४० लाख नगद लिएका थिए । सो रकम नतिरी फेरी अर्की युवतीसँग पनि उनले पैसा लिएको पाइएको थियो ।