सुनखरी न्युज काठमाडौं । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विश्व विराटशिला शालिग्राम हिन्दूहरुको आस्थाको केन्द्रका रुपमा परिचित छ । स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणीस्थित विराट शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रूपमा पूजा एवं दर्शन गर्दै आएका छन् ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सिमानामा पर्ने शिला शालिग्रामको पूजा एवं दर्शन गर्न कुनै समय भीड लाग्ने गर्दथ्यो पाँच÷सातवर्ष पहिले स्याङ्जा, पर्वत, गुल्मी, बागलुङ, पाल्पा, कास्की, तनहुँ, म्याग्दी, चितवन, नवलपरासी, अर्घाखाँची र भारतबाट आउने तीर्थालुले सेतीवेणी बजार भरिभराउ हुन्थ्यो । उचित संरक्षणको अभावमा शिला शालिग्राम पुग्न समस्या भएकाले हिजोआज पूजा र दर्शनका लागि आउने तीर्थालुको सङ्ख्यामा गिरावट आएको छ ।
परिक्रमास्थल बाढीले बगाएपछि तीर्थालुले शिला शालिग्राम दाहिनेबर्ता गर्न पाएका छैनन् । वारिपारी कालीगण्डकी लोकमार्ग र करिडोर निर्माणको क्रममा ढुङ्गा र माटो नदीमा खसेर थुपारिँदा पानीको सतहमाथि आएकाले तीर्थालुलाई स्नान गर्न र शिला शालिग्रामसम्म जानआउन समस्या हुँदै आएको हो ।
यता पर्वतबाट बग्दै आएको सेती खोलाले धार परिवर्तन गर्दा पनि शिला शालिग्राम जोखिममा पर्दै आएको छ । बर्खायाममा भने शिला शालिग्राम पूरै डुबानमा पर्छ । पछिल्लो समय सरोकारवालाको ध्यान शिला शालिग्राम संरक्षणतर्फ नजाँदा यसको अस्तित्व लोप हुँदै गएको स्थानीयवासी बताउँछन् ।
कुनै समय दैनिक हजारौँको सङ्ख्यामा शिला शालिग्रमको पूजा एवं दर्शनका लागि आउने तीर्थयात्री हिजोआज घट्न थालेको स्थानीय प्रेम अर्यालको भनाइ छ । पूजा सामग्री व्यापारीसमेत रहनुभएका उहाँ करिब पाँच वर्ष पहिले बाढीले बगाएको शिला परिक्रमास्थल हालसम्म पनि निर्माण हुन नसक्दा समस्या भएको गुनासो गर्नुहुन्छ ।
“हामी कालीगण्डकी जलविद्युत् परियोजना ‘ए’ पीडित क्षेत्रअन्तरर्गत पर्दछौँ, परियोजनाले कालीगण्डकी नदीमा थुपारिएको माटो फाल्ने काम गरेको छैन”, व्यापारी अर्यालय भन्नुहुन्छ, “पीडित क्षेत्रले पाउने सुविधाबाट पनि हामी वञ्चित हुँदै आएका छौँ” गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराई शिला शालिग्रामलाई राष्ट्रिय सम्पदाको सूचीमा राखेर संरक्षण र प्रवर्र्दन गर्न सङ्घ तथा प्रदेश सरकारसँग माग गरिने जानकारी दिनुहुन्छ ।
कालीगण्डकी नदीमा थुपरिएको माटो सफा गर्न कालीगण्डकी जलविद्युत् परियोजना ‘ए’ र सडक विभागलाई आग्रह गरिने उहाँको भनाइ छ । “निर्वाहमुखी बजेटले मात्र शिला शालिग्रामको संरक्षण हुन सकेको छैन ।
नगर प्रमुख भट्टराई भन्नुुहन्छ,“वृहत योजना सहितको बजेटले मात्र शालिग्रामको संरक्षण र विकास सम्भव छ ।” शालिग्राम विद्याश्रम सेतीवेणीका प्रमुख कुलशेखर तिवारी कालीगण्डकी नदी र मुक्ति क्षेत्रमा मात्र शालिग्राम शिला पाइने स्थानका रूपमा प्रख्यात रहेको उल्लेख गर्नुहुन्छ, । शिला शालिग्रामको पूजा गरेमा मनका सबै इच्छा पूरा हुने धार्मिक विश्वास रहेको उहाँको भनाइ छ ।
प्रमुख तिवारी भन्नुहुन्छ, “कात्तिके ठूला एकादशी, मकर सङ्क्रान्ति, नयाँ वर्ष, असारे ठूला एकादशीमा सेतीवेणीमा शिला शालिग्रामको पूजा एवं दर्शन गर्न लाखौँ भक्तजनको भीड लाग्ने गर्दछ ।”कालीगण्डी जलविद्युत् परियोजना ‘ए’ निर्माण पश्चात् बनेको जलाशयमा चार किलोमिटर मिर्मी सेतीवेणी ‘इञ्जिन जडित डुङ्गा’ स्टिम्बर सञ्चालन भएपछि शिला शालिग्राम शैक्षिक भ्रमणका लागि समेत गन्तव्य बन्दै आएको शालिग्राम माध्यामिक विद्यालयका शिक्षक टेकबहादुर क्षेत्री बताउनुहुन्छ ।
सेतीवेणीमा चक्रदेवी, बसाहा, दुर्गा मन्दिर, शिवालय मन्दिर, सीताराम मन्दिरसमेत छ । यद्यपि शिला शालिग्रामलाई भने तीर्थालुले विशेष महत्वका साथ लिन्छन् । पवित्र तीर्थस्थलका रुपमा परिचित सेतीवेणीको विकास नहुँदा व्यापारीसमेत दिन प्रतिदिन पलायन हुँर्दै गएका छन् । रासस