२०८१ मंसिर १४ , शुक्रवार

मेयर बालेनविरुद्धको अवहेलना मुद्दा श्रेष्ठको इजलासमा

Balen

सुनाखरी न्युज / काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्धको अदालतको अवहेलना मुद्दामा आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ तोकिएको छ ।

 

गएको आइतबार र सोमबार तोकिएको पेसी ‘हेर्न नभ्याइने’ हुँदै स्थगित गरिएको थियो । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको रिट दुवैपटक स्थगित गरिएको हो ।आज न्यायाधीश श्रेष्ठको इजलासमा उक्त मुद्दाको पेसी १५औँ नम्बरमा तोकिएको छ । समय नपुगेमा आज पनि सुनुवाइ स्थगित हुनसक्छ । उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै मेयर बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।

 

“जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइने छैन,” उनले समाजिक सञ्जालमा लेखेका थिए ।

 

उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् । त्यसमाथि आजै प्रारम्भिक सुनुवाइ हुनेछ । सुनुवाइपछि निवेदन खारेज वा मेयर बालेनविरुद्ध कारण देखाऊ आदेश जारी हुनसक्छ । अदालतको अवहेलना गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अरू उपयुक्त आदेश हुनसक्छ ।