२०८१ पुष २८ , आइतवार

मधुमेहका बिरामीले आँप खान हुन्छ कि हुँदैन ?

सुनाखरी न्युज /  काठमाडौं – आँपमा शरीरलाई चाहिने खनिज, भिटामिन, पानी, पोटासियम, क्याल्सियम लगायत पाइन्छ । अहिले आँपको मौसम छ । आँपमा अरू फलफूलमा भन्दा धेरै प्राकृतिक चिनी हुन्छ ।आँप यस्तो फल हो जसमा चिनीको मात्रा उच्च हुन्छ, जसले गर्दा मुधमेहका बिरामीहरुलाई चिकित्सकले आँप सकभर नखान सल्लाह दिन्छन्। कतिपयले सुगर ( मधुमेह)  का बिरामीले आँप खानै हुँदैन पनि भन्छन् । स्याउ खान हुन्छ, आँप खान हुँदैन भन्ने होइन । वा स्याउ खान हुँदैन सुन्तला खान हुन्छ भन्ने पनि होइन । जे पनि धेरै खाएमा सुगर बढ्छ । आँप खाएर सुगर बिग्रिने भन्ने होइन ।रगतमा चिनीको मात्रा बढेपछि यो रोगको कारण बन्छ। प्यानक्रियाजले पर्याप्त इन्सुलिनको उत्पादन गर्न सक्दैन जसले गर्दा रगतमा सुगर बढ्न थाल्छ।

 

प्रायः मधुमेहका बिरामीहरुलाई चिनीको प्रयोग थोरैमात्र गर्नुपर्ने हुन्छ। मधुमेहका बिरामीलाई यस्तो खानेकुरा खान सल्लाह दिइन्छ जसले रगतमा चिनीको मात्रा धेरै नबढोस्। यस्तो बिरामीलाई सबै फलको सेवन गर्नु पनि हानिकारक हुन सक्ने चिकित्सकहरु बताउँछन्।आँपमा चिनीको मात्रा एकदमै धेरै हुन्छ। त्यसैले मधुमेहका बिरामीहरुलाई आँप वर्जितजस्तै गरिएको हुन्छ। यद्यपि स्वास्थ्य विज्ञका अनुसार आँप थोरै मात्रामा खाएमा यसले फाइदा पुर्याउन सक्छ। चिकित्सकका अनुसार थोरै मात्रामा आँप खानाले चिनीको स्तर बढाउँदैन। चिकित्सकले मधुमेह नियन्त्रणमा रहेका बिरामीहरुले सीमित मात्रामा आँप खान सक्ने बताउँछन्।

 

सुगर भएका बिरामीले जे खानु हुँदैन, त्यो सुगर नभएकाले पनि खानु हुँदैन। रक्सी, चुरोट, धेरै चिल्लोले कसैलाई पनि राम्रो गर्दैन । स्वस्थ खानेकुरा रोग नभएका र भएका दुवैले खान हुन्छ । दाल, भात, माछा, मासु र सागसब्जी मात्रा मिलाएर सन्तुलित रूपमा खान हुन्छ । तपाईं स्वस्थ रहन चाहनु हुन्छ भने आधा पेट खान सुझाव दिन्छु । म अझै यति खान सक्छु भन्ने हुँदैमा उठ्नुपर्छ । बरू दिनमा पाँच(छ पटक खानुहोस्, थोरै खानुहोस् । हरेक दिन आधा घन्टा व्यायाम गर्नुहोस् । यत्ति कुरामा ध्यान दियौं भने हामी धेरै रोगबाट बच्न सक्छौं ।