२०८१ माघ ३ , बिहिवार

सासू–बुहारी अन्तरक्रियाका लागि बजेट

New Note

सुनाखरी न्युज/ काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि रु एक लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ मा सो कार्यक्रमका लागि बजेट छुट्याएको हो ।

 

समाजमा सासू र बुहारीलाई हेर्ने गलत दृष्टिकोणमा परिर्वतन ल्याउन उक्त कार्यक्रम राखिएको गापा उपाध्यक्ष कपिलकुमार कोइरालाले बताउनुभयोे । उहाँले भन्नुभयो, “सासू र बुहारीलाई एकै ठाउँमा राखेर एकअर्काको भावना र कर्तव्य बुझाउन समन्वयकारी भूमिका निर्वाह गरेमा सामाजिक र पारिवारिक सम्बन्ध कायम गर्न सहयोग पुग्ने कार्यक्रमको उद्देश्य छ ।”

‘सासू कहिले आमा हुुन सक्दैनन् र बुहारी छोरी हुन सक्दैनन्’ भन्ने भनाइलाई गलत साबित गर्न यस कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ छ । सासू र बुहारीको सम्बन्धलाई समाजमा कहिले पनि नमिल्ने वा सधैँभरि मिलेर बस्न नसक्ने सम्बन्धका रुपमा लिने गरिएकाले यसलाई चिर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

 

यस्तै, फिक्कल गाउँपालिकाले पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले सासू–बुहारी सम्मान कार्यक्रम राखेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत छ वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो ।

यस कार्यक्रमको उद्देश्य गाउँघरमा सासू–बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने रहेको उहाँको धारणा छ । गाउँपालिकाभित्र रहेका उदाहरणीय सासू र बुहारीलाई सम्मान गर्ने कार्यक्रमलाई आगामी आवहरुमा पनि निरन्तरता दिइने उहाँले बताउनुभयो । सासूले बुहारीलाई छोरी र बुहारीले सासूलाई आमाको व्यवहार गर्नुपर्नेमा गाउँपालिकाको जोड छ । यसले घरेलु हिंसा न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । रासस