२०८१ पुष २८ , आइतवार

सामुदायिक विद्यालयमा नर्स कार्यक्रम

सुनाखरी न्युज/ काठमाडौं । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ ।

महानगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेटमा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरुआत गर्न र समग्र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।

 

महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि रु १६ करोड ५० लाख विनियोजन गरिएको छ । स्वास्थ्य संस्थामा रोग लाग्नबाट बचाउन निदानात्मक सेवा सञ्चालन भइरहेको र आगामी आव जनसङ्ख्या तथा भूगोलका आधारमा छनोट भएका विभिन्न चार स्वास्थ्य संस्थामा यस्तो सेवा प्रवाह गर्न आवश्यक बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

करिब ९८ प्रकारका निःशुल्क औषधि वितरणका लागि महानगरपालिकाले औषधि खरिद तथा आपूर्ति गर्दै आइरहेको र अत्यावश्यक औषधि नियमित आपूर्तिको सुनिश्चितता गर्न पर्याप्त बजेट विनियोजन गरिएको महानगरपालिकाले जनाएको छ ।

महिलाका लागि स्वास्थ्य जोखिम मानिएको प्रजनन स्वास्थ्य, आङ खस्ने समस्या, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन तथा आमा एवं शिशुका लागि पोषण व्यवस्था गर्न बजेटको व्यवस्था गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।

सहरी क्षेत्रमा नसर्ने रोगको प्रकोप दिनानुदिन बढ्दो रहेको यस्तो प्रकोप जोखिम न्यूनीकरण गर्न स्वास्थ्यसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । महिला स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ ।

 

नेपाल सरकारले तोकेको मापदण्डबमोजिम विभिन्न स्वास्थ्य संस्थासम्बन्धी पूर्वाधार निर्माणलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ । महानगरको एकमात्र शिशु अस्पतालमा विशेषज्ञ सेवा थप गर्न र मिर्गौला रोगको डायलायसिस सेवा आरम्भ गर्न रु एक करोड एवं कोभिड–१९ लगायत सरुवा रोग, महामारी नियन्त्रण, विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ ।

महानगरपालिकाको समग्र स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न र जनस्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि गर्न सङ्घीय कार्यक्रमसहित कुल रु ३५ करोड ५६ लाख बजेट प्रस्ताव गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।
रासस