२०८१ पुष ११ , बिहिवार

धान दिवस : पाल्पामा ३० प्रतिशत रोपाइँ

सुनाखरी न्युज/ काठमाडौं ।  पाल्पामा हालसम्म करिब ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । असारको मध्य भागसम्म आइपुग्दा जिल्लाका केही स्थानमा मात्रै रोपाइँ सुरु भएको छ ।

विगतका वर्षको तुलनामा यस वर्ष मनसुन ढिला सुरु भएकाले असार १५ सम्म धान रोप्ने कार्य कम भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउनुहुन्छ । “समयमा नै वर्षा नहुँदा रोपाइँ कम क्षेत्रफलमा भएको छ, केही ठाउँमा रोपाइँ सुरु भए पनि आकाशे पानीकै भरमा अधिकांश जमिनमा रोपाइँ गरिने भएकाले पानी पर्याप्त परेपछि रोपाइँका चहलपहल बढ्छ”, उहाँले भन्नुभयो । पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोला नजिकका खेतमा रोपाइँ सुरु भएको छ ।

जिल्लामा असारको पहिलो हप्ताबाट रोपाइँ अगाडि बढेको छ । बाँझो जमिन, खोला र नहरका पानी लाग्ने जमिनमा धान रोप्ने काम भएको छ । मकैखेती भएका जमिन, आकाशकै पानीमा निर्भर जमिनमा असारको तेस्रो हप्तापछि धान रोपाइँ सुरु हुनेछ । हालसम्म पाल्पामा माडीफाँट, दोभान, अर्गली, रम्भा, पूर्वखोला, बगनासकाली लगायतका क्षेत्रमा रोपाइँ सुरु भएको छ ।

पाल्पामा करिब आठ हजार छ सय २० हेक्टर क्षेत्रफलमा रोपाइँ गरिँदै आएको छ । जिल्लाको माडीफाँट, अर्गली, रामपुर, हुँगी, हेक्लाङ्ग, पूर्वखोला, दोभान लगायतका क्षेत्र धान उत्पादका मुख्य पकेट क्षेत्र हुन् । पछिल्लो समय गाउँ–गाउँमा कृषि यान्त्रिकरणको विकासले पनि रोपाइँ छिटोछरितो हुने गरेको छ ।

सावित्री, हाइब्रिड, रामधान, सावाँ मन्सुली लगायतका धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषक उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । युवा जनशक्ति पलायन, सीमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकाशे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउबिजन तथा मलखाद एवं अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् ।

आज देशभर राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ गते ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन धान दिवससँगै रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ । धान उत्पादनमा आधुनिक प्रविधि किसानलाई सिकाउन, असार १५ लाई उत्सवका रुपमा मनाउन कृषि ज्ञान केन्द्र पाल्पाले मदनपोखरा बहुप्राविधिक शिक्षालय तानसेन र तानसेन नगरपालिकाको सहकार्यमा आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रम आयोजना गरेको छ ।

कृषि पेसामा कृषकलाई आकर्षित गर्न, धान उत्पादनमा वृद्धि ल्याउन असार १५ मा धान दिवस मनाइँदै आइएको छ । यस वर्ष ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासहित देशभर नै धान दिवस मनाउने कार्यक्रम छ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।

आजको दिन खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति तथा शीतलता प्राप्त हुने विश्वास छ । खेतीबाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
रासस