२०८१ मंसिर ५ , बुधवार

गुरुपूर्णिमाको महत्व र ऐतिहासिक पृष्ठभुमि, ॐ तत सत

किरण गिरी । हाम्रो सनातन हिन्दू धर्ममा गुरूको महत्त्व असाधारण र अनुपम छ। ‘गिरति अज्ञानं इति गुरूः’ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसर्थ गुरू नै यथार्थ ब्रह्म हो । आजको दिनलाई गुरुपूर्णिमा, अषाढ पुर्णिमा, व्यास जयन्ती, कबीर जयन्ती आदि जे भने पनि गुरुपूर्णिमा नै हो ।

माता पिता नै संसारको सबैभन्दा ठुला गुरु हुन । हाम्रो शास्त्रमा दुई ठूला गुरूको चर्चा गरिएको छ- १. देव गुरू बृहष्पति र २. असुर गुरू शुक्राचार्य। शिक्षक देशका निर्माता हुन् भने शिक्षक विनाशकर्ता पनि बन्न सक्छन्। गुरू त्यस्तो प्रभावशाली व्यक्ति हो, जसले लगाएको वश्त्रले पनि अरूलाई शिक्षा र उत्प्रेरणा दिन्छ, दिनुपर्छ। गुरूलाई ब्रह्मा भन्नुको अर्थ हो- बालबालिकाको सर्वाङ्गीण विकासमा सिर्जनात्मक शक्तिको विकास गर्नु तथा विष्णुजस्तै हेरचाह, रेखदेख, पालनपोषण गर्नु तथा महेश्वरजस्तै अज्ञान, कुमार्ग, कुविचारको नाश गर्नु – “गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर । गुरुर्शाक्षात परब्रह्म तस्मै श्री गुरुवे नमः । गुरुको चर्चा गर्दा हामीले सदा आफू , आफ्नो आत्मा र परमात्मा लाई अर्थात म , मेरो आत्मा र मेरो परमात्मा को बारेमा आत्मसात गर्नु जरुरी छ ।

 

हिन्दूहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन्।द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूर्णिमा को दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो। गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले त्यसै दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीहरूले मनाउने गरिआएका छन्।

सय वर्षपूर्व अमेरिकामा शिक्षक सङ्घ र समुदायले शिक्षकहरूले पालन गर्नुपर्ने आचारसंहिता पारित गरेका थिए। जसको उद्देश्य शिक्षकहरूमा व्यक्तिगत, सामाजिक र पेसागत गुण निम्नउल्लिखित बमोजिम हुनुपर्ने भनिएको थियो- व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान आदि। सामाजिक गुण पक्षपातरहित, स्पष्ट वक्ता, मानवीय सम्बन्ध कायम गर्ने, सेवाभाव- क्रियाशील, विनोदप्रिय, नेतत्त्वदायी क्षमता र समुदायको ज्ञान आदि। सबभन्दा प्रमुख पेशागत गुण हो।

विषयवस्तुको उच्च ज्ञान, शिक्षण कौशल, बालमनोविज्ञानको ज्ञान, शिक्षण पद्धति, विधि र प्रविधिको ज्ञान, उत्तरदायित्व बोध, जिज्ञासु र अध्ययनशील, खोज आदि पनि योग्य शिक्षकका विशेषता हुन्। सारांशमा हाम्रा स्थापित मूल्य मान्यता र आदर्शलाई शतप्रतिशत रूपमा पश्चिमाले स्वीकार गरिसकेका हुन। अध्यारो बाट उज्यालो तर्फ हाम्रो यात्रा गुरु बाट नै सम्भव भएको हो । आदिम सभ्यता र आजको एक्काइसौं सताब्दी लाई जोड्ने काम गुरु कै कारण सम्भव भएको हो । ॐ तत सत । विकिपीडिया र केही धर्मग्रन्थ समेत को आधारमा ।

लेखक गिरी , नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।