सुनाखरी न्युज / काठमाडौं – मानिसको गहना हो – मुस्कान । मुस्कानका लागि चाहिन्छ – सुन्दर दाँत । खाना चपाउन र पाचन प्रक्रियालाई सहज बनाउन दाँतले महत्वपूर्ण भूमिका खेल्छ । मानिसको शरीरलाई चाहिने पोषण खानाबाट प्राप्त हुने तथा त्यसलाई शरीरभित्र पुर्याउन दाँतको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई स्वस्थ राख्न जरुरी छ । शरीरको मुख्य द्वारको रूपमा लिइने मुख अधिकांश समय फोहोर भइरहन्छ । त्यसैले शरीर स्वस्थ राख्न दाँत र मुखको सफाइमा ध्यान दिनु अत्यन्त आवश्यक हुन्छ।
दन्त चिकित्सकहरूले करिब ९० प्रतिशत नेपालीले उपयुक्त ढंगले दाँत माझ्न नजान्ने बताएका छन् । हालसम्म मुलुकमा यसबारे खासै अध्ययन नगरिए पनि उपचारका लागि आएकाहरूको अवस्था हेरेर दन्त चिकित्सकहरू यो आकलनमा पुगेका हुन् । ‘हाम्रो आकलनअनुसार करिब ९० प्रतिशतभन्दा बढी नेपालीलाई उपयुक्त तरिकाले दाँत माझ्न आउँदैन,’ नेपाल दन्त चिकित्सक संघका अध्यक्ष डा। सन्तोषमान राजभण्डारी भन्छन् ।
दाँतलाई राम्ररी माझा कुल्ला, डेन्टल फ्लस आदि गर्दा करिब ६० प्रतिशत दाँतसम्बन्धी रोग हुनबाट जोगिन सक्ने डा। घिमिरे बताउँछन् । बिहान खाना खाएपछि र राति खाएर सुत्ने बेला गरी कम्तीमा दुई पटक दाँत माझ्नुपर्छ । एउटै ब्रस धेरै समयसम्म उपयोग गर्नु हुँदैन । दाँत माझदा फ्लोराइड भएको टुथपेस्ट उपयोग गर्नु उपयुक्त हुने दन्त चिकित्सकहरूको धारणा छ ।
दिनहुँ गर्ने एउटा प्रक्रिया जस्तै ब्रस वा दतिउन लियो, मिनेट न पुग्दै यताउता गर्यो र दाँत माझियो भनेर ठान्नेहरू नै बहुसंख्यक रहेको औंल्याउँदै डा। राजभण्डारी न्यूनतम दुईदेखि तीन मिनेटसम्म ब्रस गर्नुपर्ने बताउँछन् । ब्रस गरेपछि जिब्रो सफा गर्न भने बिर्सनु हुँदैन । यसले मुखमा भएका किटाणुहरूको संख्यालाई कम गर्छ । ब्रसमा समेत ध्यान दिनुपर्छ । बजारमा कडा, नरम, मध्यम, बांगोटिंगो लगायतका विभिन्न प्रकारको ब्रस पाइन्छन् । उसो त तपाईंको गिजा र दाँतको स्वास्थ्य, उमेर हेरेर दन्त चिकित्सकले अनुकूल ब्रस प्रस्तावित गर्छन् ।
डा। राजभण्डारी सामान्यतया धेरै कडा वा बढी नरम ब्रस उपयोग नगर्ने सल्लाह दिन्छन् । कडा ब्रसले दाँत खिइने र नरम ब्रसले दाँत राम्ररी सफा नहुने हुँदा सामान्य व्यक्तिले न नरम, न कडा अर्थात् मध्यम लचकता भएको ब्रस उपयोग गर्नुपर्छ । मुखमा अनुकूल हुने हिसाबको ब्रस उपयोग गर्नुपर्छ । ब्रस गर्दा दाँत र गिजालाई न घोचिने गरी माझ्नुपर्छ । किनभने हाम्रो औसत आयु बढिरहेको छ । हामीलाई सहज जीवन यापन गर्न ८० वर्षसम्म स्वस्थ गिजा र दाँत चाहिन्छ ।
सबैभन्दा पहिले ब्रसलाई माथिल्लो दाँतअन्तर्गत गिजाको माथिल्लो भाग राखेर तल दाँततिर आउन दिने । यही प्रक्रिया दोहोर्याउने । यसले गिजामा रक्तसञ्चार हुनुका साथै दाँतलाई समेत बलियो बनाउँछ । यसपछि तल्लो दाँतअन्तर्गत तलको गिजाबाट ब्रसलाई माथि दाँतसम्म लिएर जाने । ब्रस तलमाथि गर्नु हुँदैन । दाँतको भित्री भागमा समेत यसैगरी सफा गर्नुपर्ने जनाउँदै डा।घिमिरे टोक्ने भागमा पनि ब्रसले अगाडिरपछाडि गरेर सफा गर्नुपर्ने उल्लेख गर्छन् । ब्रस आदि गर्दा दुई दाँतबीचको भाग सफा हुँदैन । यसैले दिनहुँ बिहान र राति गरेर दुई पटक डेन्टल फ्लस अर्थात् एक प्रकारको बेक्स मिसिएको धागोले दुई दाँतबीचको भागलाई सफा गर्नुपर्ने उनी बताउँछन् ।