२०८१ माघ २ , बुधवार

एसईईमा कुन ग्रेडले के पढ्न पाउँछन् ?

सुनाखरी न्युज / काठमाडौं –  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा बिहीबार सार्वजनिक गर्दैछ । एसईईको नतिजा प्रकाशन भएसँगै अब के पढ्ने, कहाँ पढ्ने भन्ने बारे विद्यार्थीमा कौतूहलता पैदा हुन थालेको छ ।

 

कम ग्रेड ल्याउने विद्यार्थीहरु भने आफ्नो जीपीएले के पढ्न पाउने के पढ्न नपाउने भन्नेबारे अन्योलमा छन् । हाल प्रचलनमा रहेको लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिकतर्फ ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क नल्याउने विद्यार्थीको प्रमाणपत्रमा एनजी अर्थात नन ग्रेडेड लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ । तर यसवर्ष भने यो नियम लागू नहुने भएको छ ।

 

बिहीबार सार्वजनिक गरिने नतिजामा भने विद्यार्थी फेल हुँदैनन् । तर उनीहरुले ल्याउने अंकको आधारमा के विषय पढ्न पाउने र के नपाउने भन्ने सरकारले तोकिदिएको छ । उक्त व्यवस्थाअनुसार विज्ञान संकायअन्तर्गत पर्ने विषयहरु भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, कम्प्युटर साइन्स विषय अध्ययन गर्न एसईईमा न्यूनतम २ जीपीए अनिवार्य प्राप्त गरेको हनुपर्ने छ । र, विषयगत आधारमा विज्ञान र गणित विषयमा ‘सी–प्लस’, अंग्रेजीमा ‘सी’ र सामाजिक र नेपाली विषयमा ‘डी–प्लस’ अनिवार्य प्राप्त गरेको हुनु पर्नेछ ।

 

त्यस्तै, व्यवस्थापन संकायमा अध्ययन गर्न चाहने विद्यार्थीले १।६ जीपीए अनिवार्य प्राप्त गरेको हुनुपर्ने छ । र, विषयगतका आधारमा गणितमा ‘सी’, अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा ‘डी–प्लस’ अनिवार्य प्राप्त गरेको हुनु पर्नेछ । मानविकी र शिक्षा संकायमा अध्ययन गर्न समग्रमा १।६ जीपीए अनिवार्य गरिएको छ भने विषयगत आधारमा नेपाली, अंग्रेजी र सामाजिकमा ‘डी–प्लस’ अनिवार्य ल्याउनु पर्नेछ ।

 

मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले परीक्षा दिन सक्नेछन् । बिहीबार सार्वजनिक गर्न लागेको एसईईको परीक्षा गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा देशभरका करिब ५ लाख विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।