२०८१ माघ २ , बुधवार

शिवपुरी गाउँपालिकाले पनि बनायो आफ्नै पाठ्यक्रम “हाम्रो शिवपुरी “

प्रविण थपलिया/ नुवाकोट, शिवपुरी । नुवाकोटको शिवपुरी गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गरेको छ। शिवपुरी गाउँपालिकाको युवा शिक्षा तथा खेलकुद विकास शाखाले बुधवार आयोजना गरेको पाठ्यक्रम लोकार्पण तथा प्रबोधिकरण कार्यक्रममा सो पाठ्यक्रम औपचारिक रुपमा सार्वजनिक गरीएको हो ।गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मको लागि “ हाम्रो शिवपुरी “ नामको स्थानीय पाठ्यक्रम निर्माण गरेको हो ।

 

गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाको सभापतित्वमा बुधवार आयोजीत उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत वसन्तकुमार कार्की,युवा शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख सुनेस अधिकारी, स्थानीय पाठ्यक्रम निर्माण समिति संयोजक रामप्रसाद अधिकारी, विज्ञ समूहका एकराज कोइराला र बटुराम भन्डारी तथा शिवपुरी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाको उपस्थितिमा पाठ्यक्रम लोकार्पण गरी गरि विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

 

उक्त कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले स्थानीय पाठ्यक्रम आफैमा महत्वपुर्ण पाठ्यक्रम भएको बताउनु भयो। स्थानीय पाठ्यक्रमले स्थानीय क्षेत्रमा रहेका बिभिन्न क्षेत्र, समुदाय, भाषा कला र संस्कृतिको संरक्षण गर्नमा ठूलो महत्व राख्ने उल्लेख गर्दै नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकामा शिवपुरीले त्यसको अभ्यास गरेको वताउनुभयो , त्यस्तै यस पाठयक्रम बाट सिकारुमा मौलिक कलाको बारेमा जान्ने, विद्यार्थीको व्यवहार, सिप, नैतिकता, अनुशासन र आचरणमा परिवर्तन ल्याउनमा टेवा पुयाउने विश्वास व्यक्त गर्नु भयो।

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले समेत सबै स्थानीय तहले आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) स्थानीय विषयबस्तुलाई समेटेर पाठ्यक्रम बनाउन निर्देश गरेको र सोही अधिकार र निर्देशन अनुसार स्थानीय पाठ्यक्रम निर्माण गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुनेस अधिकारीले बताउनुभयो ।

आधारभूत तह कक्षा १ देखि ८ सम्मको “ हाम्रो शिवपुरी “ नामक स्थानीय पाठ्यक्रम शिवपुरी गाउँपालिका अन्तर्गतका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि लागू गरिन लागेको स्थानीय पाठ्यक्रम निर्माण समिति संयोजक रामप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।

पाठ्यक्रममा गाउँपालिकाको परिचय, भौगोलिक अवस्था, साँध सिमाना, स्थानीय जातजाति, भेषभूषा, भाषा, धर्म, पालिका भित्र रहेका सम्पदाहरु समेटिएका छन् । यस्तै स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको छ । पाठ्यक्रममा वनजंगल, कृषि, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, पर्यटन लगायतका छ क्षेत्रलाई समेटेर पाठ्यक्रम निर्माण गरिएको छ ।


पाठ्यक्रममा समावेश गरिएका बिषय र क्षेत्रहरुको बारेमा अन्यौलता हटाई, शिक्षण कार्य सहज बनाउने उद्धेश्यका साथ २ दिने प्रबोधिकरण कार्यक्रम गरिएको थियो। प्रबोधीकरण कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण विज्ञ समूहका एकराज कोइराला र बटुराम भन्डारी ले पाठ्यक्रम बारे सहजिकरण गर्नु भएको थियो । गाउँपालिकामा ३६ आधारभूत विद्यालय र ११ माध्यमिक विद्यालय १ वटा क्याम्पस २ वटा प्राविधिक शिक्षालय रहेका छन् ।

No description available.
पाठ्यक्रम निर्माणका लागि रामप्रसाद अधिकारीको संयोजकत्वमा ८ सदस्यीय पाठ्यक्रम निर्माण समिति गठन गरिएको थियो जसमा सुरेन्द्र लामा,जीवन कुमारी तामाङ ,शिवलाल राई, रामहरि खड़का, माधव अधिकारी,गणेश प्रसाद सिटौला , माधव ठकुरी, र मधु पाण्डे रहनु भएको थियो, त्यस्तै १७ सदस्यीय पाठ्यक्रम निर्माण कार्यदलमा नारायण थापा, राजकुमार खड्का ,रविन्द्र तामाङ ,शुशिल प्रसाद घिमिरे ,गोविन्द श्रेष्ठ, दिपक के.सी,चोकमाया गुरुङ, विर बहादुर तामाङ , देवराज भण्डारी,प्रविण थपलिया,सुवास तामाङ,चिरञ्जीवी लामिछाने,रामचन्द्र खतिवडा,भक्तराज जोशी,महेन्द्र ढकाल,विन्दा तामाङ,मोहन बहादुर विष्ट र स्थानीय पाठ्यक्रम निर्माण विज्ञ समूहमा एकराज कोइराला र बटुराम भन्डारी रहनु भएको थियो ।

उक्त पाठ्यक्रम निर्माण समिति र कार्यदलले जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवा, शिक्षाविद्लगायतको सुझावको आधारमा स्थानीय पाठ्यक्रम निर्माण गरेको थियो । विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको यस पाठ्यक्रमले शिवपुरी गाउँपालिकाका साथै नुवाकोटको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।