सुनाखरी न्युज/ काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्कासन गर्ने मिति तय गरेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियम वापत रू. १३९ थप गरी प्रतिकित्ता रू. २३९ मा ९६ लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले जारी पूँजी रू. ३ अर्ब २० करोडको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न बोर्डको अनुमति पाएको हो । कुल कित्ता शेयरमध्ये पहिलो चरणमा १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री खुला गर्न लागिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषत स्तरको सुरक्षित कम्पनीको संकेत गर्ने केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्वेयरबाट समेत आवेदन दिन सक्नेछन् । नयाँ जीवन बीमा कम्पनीको रुपमा यस कम्पनीले २०७४ साल असोज ६ गतेदेखि सेवा प्रदान गर्दै आएको छ ।
हाल कम्पनीले २९ शाखा कार्यालय र १६१ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । यो कम्पनी नाफामै रहेको छ । अघिल्ला तीन आर्थिक वर्ष निरन्तर नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म रू. ८१ करोड १० लाखभन्दा बढी सञ्चित नाफा गरेको छ ।