२०८१ माघ २ , बुधवार

कति जीपीए ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?

सुनाखरी न्युज/ काठमाडौं । एसईईपछि विद्यार्थीहरुले आफ्नो जीपीए अनुसारले कक्षा ११ मा भर्ना हुन्छन् । त्यसका लागि सरकारले निश्चित मापदण्ड बनाएको छ । जसले कति जीपीए ल्याउनेले कुन विषय पढ्न पाउने भन्ने निर्धारण गरेको छ ।

 

परीक्षा नियन्त्रण कार्यालयले उत्कृष्ट नतिजा ल्याउनेलाई ‘ए प्लस’ र कम ल्याउनेलाई ‘ई’ ग्रेडमा वर्गीकरण गर्छ । सोही अनुसारले कलेजले पनि भर्ना लिन्छन् । विशेषतः एसइई दिएका विद्यार्थी कुन गे्रड आए कुन विषय पढ्न पाइन्छ भन्नेबारे नबुझ्दा निकै समस्यामा पर्ने गरेका छन् । सरकारले एसइईको नतिजाबाट सुरू गरिएको गे्रडिङ प्रणाली अहिले कक्षा ११ लगायत अन्य तहको नतिजा प्रकाशनमा समेत लागू गरेको छ । विद्यार्थीको परिक्षामा पाएको ग्रेडको आधारमा विषयवस्तु छनोट गर्न पाउने व्यवस्था छ ।

 

कक्षा ११ मा भर्ना पाउन अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस ल्याउनैपर्छ । विज्ञान पढ्न विज्ञान र गणितमा सी प्लस ल्याउनैपर्छ । आठ विषयमा परीक्षा दिँदा गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञानबाहेकका तीन विषयमा भने जुन ग्रेड ल्याउँदा पनि हुन्छ । नेपाली, अंग्रेजी र सामाजिक अध्ययनमा डी ग्रेड ल्याए पनि विज्ञान पढ्न पाउँछन् ।

 

कक्षा ११ मा पढाइ हुने विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ, कम्प्युटर साइन्स र एग्रिकल्चर पर्छन् । यी समूहमा भर्ना हुन विद्यार्थीले समग्र नतिजामा न्यूनतम जीपीए २ ल्याउनैपर्छ । विषयअनुसार जुन ग्रेड ल्याए पनि न्यूनतम जीपीए १।६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूहमा मात्र भर्ना हुन पाउँछन् ।

 

सीपमूलक विषय समूहअन्तर्गत एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ पर्छन् । यी विषय प्राविधिक धारबाट परीक्षा दिएका विद्यार्थीका लागि हो । समग्र नतिजामा न्यूनतम जीपीए १।६ ल्याएका तर गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञान गरी पाँच विषयमा डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन तथा मानविकी विषय समूहमा भर्ना हुन पाउनेछन् । सैद्धान्तिक विषयतर्फ सी वा त्यसभन्दा तल्लो ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेमा ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् ।

 

मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले परीक्षा दिन सक्नेछन् । एसईईको परीक्षा गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा देशभरका करिब ५ लाख विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।