२०८१ माघ २ , बुधवार

गोल्डेन नेचर बोर्डिङ स्कुलमा एस.ई.ई. २०७९ का विद्यार्थीहरूलाई सम्मान

सुनाखरी न्युज/ काठमाडौं । पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुङ्गेपाटनमा अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलबाट २०७९ सालको एस.ई.ई. परीक्षामा सहभागी ४२ जना विद्यार्थीमध्ये सबैजनाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको अवसरमा एक कार्यक्रमको आयोजना गरि सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान गरियो ।

उक्त परीक्षामा ६ जना विद्यार्थीले ३.६० बाट ३.८० जि.पि.ए, १५ जना विद्यार्थीले ३.२० बाट ३.६० जि.पि.ए., १५ जना विद्यार्थीले २.८ बाट ३.२० जि.पि.ए. र बाँकी ६ जनाले २.५० बाट २.८० जि.पि.ए. प्राप्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य प्रेम प्रसाद शर्माले विद्यार्थीहरूले एउटा तह राम्रोसँग पार गरेकोमा सबैलाई बधाईज्ञापन गर्दै आगामी दिनमा विषय एवम् विद्यालय छनौट लगायत आफ्नो उज्ज्वल भविष्यका लागि उच्च तहमा अध्ययन गर्दा ध्यान दिनुपर्ने कुराहरूमा आफ्नो विचार राख्नु भयो ।

 

उक्त कार्यक्रममा अभिभावक एवम् विद्यार्थीहरूले आफ्नो विचार राख्दै विद्यालयले उपयुक्त वातावरण सिर्जना गरी हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका अङ्ग्रेजी विभाग प्रमुख सोमनाथ कडेलले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ रानाभाटले र स्वागत मन्तव्य विद्यालयका पूर्व प्राचार्य नवराज रानाभाटले राख्नुभएको थियो ।