२०८१ मंसिर १४ , शुक्रवार

आरजुको नाम मुछिएको अडियो फेक नभएको पुष्टि : नक्कली शरणार्थी प्रकरण

सुनाखरी न्युज/ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम मुछिएको अडियो फेक नभएको पाइएको छ ।

 

परीक्षणका क्रममा आरजु राणाको नाम लिइएको अडियो सो प्रकरणका अभियुक्त सन्देश शर्माको आवाजसँग दुरस्त मिलेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार सो प्रकरणमा पक्राउ परेर हाल अनुसन्धानका क्रममा थुनामा रहेका दाङका सन्देश शर्माले आरजु राणाको नाम समेत जोडेर बोलेको अडियो भाइरल भएको थियो । सो अडियो बाहिरिएपछि आरजु राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक गरिएको र आफ्नो चरित्रहत्या भएको भन्दै छानबिनका लागि उजुरी दिएकी थिइन् ।

 

सोही उजुरीमाथि छानबिन गर्ने क्रममा अडियो निज अभियुक्तकै भएको र फेक नभएको पुष्टि गरिएको छ । उक्त अडियो पहिलोपटक टिकटकबाट सार्वजनिक भएको र उक्त टिकटिकमा पहिला कसले अपलोड गरेको हो भनी सिंगापुरस्थित टिकटिक कार्यालयमा पठाएर विवरण माग गरिएको प्रहरीले जनाएको छ । तर टिकटकबाट थप विवरण प्राप्त हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।