२०८१ कार्तिक १६ , शुक्रवार

अमेरिकी राष्ट्रपति बेलायत प्रस्थान

सुनाखरी न्युज/काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन राजा चार्ल्सलाई भेट्न आइतबार बेलायत प्रस्थान गरेका छन् । उत्तर एटलान्टिक सन्धि संगठन नेटो शिखर सम्मेलनका लागि भिल्नियस जानुअघि उनको बेलायत भ्रमण हुन लागेको हो ।

 

बाइडेन डेलावेयरस्थित डोभर एयर फोर्स आधार शिविरबाट प्रस्थान गरी आइतबार राति अमेरिकाको प्रमुख सहयोगी युरोपेली मुलुक बेलायत आइपुग्ने वासिङ्टन स्रोतले बताएको छ । चाल्र्स तृतीयको राज्याभिषेकमा उपस्थित नभई अमेरिकी राष्ट्रपतिले प्रथम महिला जिल बाइडेनलाई पठाएका थिए । चार्ल्सको राज्याभिषेकपछि उनीहरूबीच पहिलो पटक सोमबार भेटवार्ता हुनेछ ।

 

ह्वाइट हाउसका अनुसार उनीहरुबीचको वार्ता वातावरणीय विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ । बाइडेनले १० डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री ऋषि सुनकसँग पनि भेटवार्ता गर्नेछन् । बाइडेनको युरोप भ्रमणको मुख्य भाग मङ्गलबार र बुधबार लिथुआनियाको राजधानीमा नाटो शिखर सम्मेलन हुनेछ, जहाँ पश्चिमी सहयोगीहरूले युक्रेनलाई रूसी कब्जा र सेनाहरू हटाउन मद्दत गर्ने बारेमा छलफल गर्नेछन् ।