सुनाखरी न्युज / काठमाडौं – उपत्यकामा मर्निङ वाकमा निस्किने महिलाहरुको सिक्री लुट्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानीका विभिन्न स्थानबाट मर्निङवाक हिँड्ने महिलाहरुको सिक्री लुट्ने गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रामेछापको लिखु गाउँपालिका घर भएका ३२ वर्षीय रविन दमाई, सुनसरीको धरान घर भएका १८ वर्षीय रवि विश्वकर्मा, काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका घर भएका २६ वर्षीय उमेश क्षेत्री, धनकुटा घर भएका ३० वर्षीय राहुल माझी र भारत पश्चिम बङ्गाल घर भएका ४२ वर्षी श्रीकान्त माइती रहेका छन्। टोखा नगरपालिका – ६ की ४५ वर्षीया सरस्वती खतिवडा पनि मर्निङ वाकमा निस्किएकी थिइन्। उनको पनि दैनिक ६ बजे मर्निङ वाक जाने बानी थियो।
टोखा नगरपालिका क्षेत्रमा महिलाहरुको सिक्री लुट्ने गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गर्न सफल भएको हो। श्रृंखलाबद्धरुपमा सुनको सिक्री लुटपाट गर्ने गिरोहका सदस्यहरुलाई महाशाखाले आइतबार पत्रकारहरुमाझ सार्वजनिक गरेको छ।
महाशाखाले केही समयदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा मोटरसाइकलको प्रयोग विशेषतस् मर्निङ वाकमा हिँडिरहेका महिलाहरु लुटिएको गुनासो आएपछि अनुसन्धान थालेको थियो। उनीहरुको समुहले असार १ गते बिहान कपुरधारमा, टोखामा महिलाको सिक्री लुटेका थिए। त्यस्तै असार ३ गते काठमाडौंको नागार्जुनमा, असार १३ गते टोखामा, असार १९ गते टोखा, चक्रपथ, असार २० गते टोखा र काठमाडौंको चागलमा सिक्री लुटेका थिए। उनीहरुले विहान ४ बजेदेखि ६ बजेको समयमा लुटिएको देखिएको छ।
प्रहरीले उनीहरूको साथबाट लुटिएको सुन, मोटरसाइकल र मोबाइल बरामद गरेको छ। प्रहरीको अनुसन्धानमा उनीहरूले लुट्न एउटै मोटरसाइकल प्रयोग गरेको देखिएको छ। उनीहरुले डुक मोटरसाइकल प्रयोग गरेर गहना लुट्ने गरेका थिए।