२०८१ पुष २७ , शनिवार

यस वर्ष पनि डेङ्गी सङ्क्रमण फैलिने जोखिम,

सरकारले यस वर्ष पनि डेङ्गीले महामारीको रूप लिन सक्ने जोखिम रहेको बताएको छ । डेङ्गी सङ्क्रमण रोकथाम तथा नियन्त्रण विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले आयोजना गरेको अन्तरक्रियामा निर्देशक डा. रुद्र मरासिनीले यो वर्ष पनि ढुक्क भएर बस्ने अवस्था नरहेको बताए।

 

ईडीसीडीको तथ्याङ्कअनुसार जनवरी १ देखि अहिलेसम्म ६६ जिल्लामा सङ्क्रमण देखिएको छ । जसमा एक हजार एक सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै दार्चुला, धादिङ र सुनसरीमा सङ्क्रमित भेटिएका छन् । कतिपय सङ्क्रमणका बारेमा पहिचान तथा रिपोर्ट नभएकाले पनि सङ्क्रमण अझ फैलिएको हुन सक्ने ईडीसीडीको अनुमान छ ।

 

जुनदेखि अगस्टलाई डेङ्गीले महामारीको रूप लिन सक्ने समय मानिन्छ । मनसुनपछिको समयमा डेङ्गी सङ्क्रमण बढ्न सुरु हुन्छ । तर गएको वर्ष मङ्सिरमा पनि डेङ्गी सङ्क्रमण हुने क्रम उच्च थियो । गएको वर्ष ५४ हजार सात सय ८४ जनामा डेङ्गी सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो ।