२०८१ मंसिर ९ , आइतवार

दाङमा खेतीयोग्य जमिनको आकार घट्दै

सुनाखरी न्युज  / काठमाडौं –  दाङमा खेतीयोग्य जमिन घट्दै गएको पाइएको छ । खेतीयोग्य जग्गा घडेरीका रुपमा विकास गरी बिक्री हुन थालेपछि कम हुँदै गएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले एक वर्षमा ६० हेक्टर खेतीयोग्य जग्गा खुम्चिएको जानकारी दिनुभयो । “धान, गहुँ, मकै फल्ने जग्गा घडेरीमा रुपान्तरण हुन थालेका छन, कतिपय जग्गामा उद्योग स्थापना हुन थालेका छन”, उहाँले भन्नुभयो ।

 

केन्द्रका अनुसार दाङमा ६९ हजार नौ सय ५० हेक्टर जमिन खेतीयोग्यमध्ये ६५ हजार नौ सय ८० हेक्टर जग्गामा मात्रै खेती हुने गरेको छ । साथै ३९ हजार चार सय हेक्टर जमिनमा मात्र धान खेती हुँदै आएको छ । केन्द्रका अनुसार हाल कूल १९ हजार सात सय ९५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

 

सरकारले कृषि क्षेत्रमा प्राथमिकता दिएको बताउने गरे पनि जग्गाको खण्डिकरण रोक्न असफल देखिएको छ । सरकारले जग्गाको खण्डीकरण रोक्न भूपयोग नियमावली जारी गरेको छ । यो नियमावलीले जग्गाको खण्डीकरणलाई रोक्न खोजेको भए पनि प्रधावकारी हुनसकेको छैन ।रासस