२०८१ पुष २६ , शुक्रवार

नेपाल पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित

सुनाखरी न्युज/ काठमाडौं । एसीसी इमर्जिङ टीम्स कपको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको छ। नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। पाकिस्तानका लागि मोहम्मद तय्यब तहिरले ५१, ओमिर बिन युसुफले ३६, कम्रान गुलामले ३० र सैम अयुबले २४ रन बनाए।

 

नेपालका लागि ललित राजवंशीले तीन, पवन सर्राफले दुई र कुशल मल्लले एक विकेट लिए। यसअघि ब्याटिङ गरेको नेपालले ३७ ओभरमा १७९ रन बनाएको हो। नेपालका लागि सोमपाल कामीले ७५ रन बनाए। उनले १०१ बलमा नौ चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, नेपालका लागि प्रतिश जीसीले २६, कुशल मल्ल र अर्जुन साउदले १७-१७, गुल्सन झाले १३ र आसिफ शेखले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।

 

पाकिस्तान ‘ए’ का लागि शहनावाज दहानीले पाँच, मोहम्मद वासिमले चार र मुबासिर खानले एक विकेट लिए। एसीसी इमर्जिङ टीम्स कपमा आठ टोली प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल रहेको समूह ‘बी’ मा पाकिस्तानसँगै भारत र यूएई छन्। त्यस्तै, समूह ‘ए’ मा अफगानिस्तान, श्रीलंका, बाङ्लादेश र ओमन छन्। नेपाल बाहेक सातै देशका दोस्रो टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। नेपालले अर्को खेलमा साउन १ गते भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ।