उजाड शिशिर/ पोखरा । शुक्ला साहित्य प्रतिष्ठान पोखरा-१६, बाटुलेचौरले कृति लोकार्पण, रामायणवाचन तथा स्रष्टा सम्मानसहित २१० औं भानु जयन्ती मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानियाँले सभाको उद्घाटन गर्दै हामी हाम्रो संस्कार र संस्कृति भनिरहँदा त्यसको सत्य तथ्य के हो भनेर जान्न आवश्यक रहेको धारणा राखे ।
मोहनकुमार सुनारको मेरो देश कवितासङ्ग्रह लोकार्पण गर्र्दै अतिथि बानियाँले जीवन्त साहित्य लेखन वर्तमानको आवश्यकता रहेकाले स्रष्टालाई त्यसतर्फ लाग्न आग्रहसमेत गरे ।
वडा नं. १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा शुक्लाले पृथक पहिचान बनाएकाले १६ वडाभित्रका साहित्यिक गहनाको उचित संरक्षणमा सबै जुट्न आवश्यक रहेको बताए ।
कृति समीक्षा गर्दै समिक्षक असफल गौतमले मोहनका कविताको स्रोत हाम्रो समाज भएकाले वर्तमानको यथार्थ नै कविताको विषय भएकाले यथार्थवादी कवि भएको बताए ।
स्रष्टा परिचय राख्दै प्रतिष्ठानका सहसचिव सञ्जय थापाले उनलाई बहुआयामिक तथा सामाजिक व्यक्तित्वका रूपमा चिनाए ।
स्रष्टा मोहनकुमार सुनारले मनमा रहेका धेरै कुरालाई कवितामा उतारेको बताउँदै जीवन सरल कसैको पनि नरहेकाले यसलाई सरल बनाउँदै लैजान आवश्यक रहेको धारणा राखे ।
कृष्ण भजन प्रतियोतिगाको प्रस्तावनासमेत सार्वजनिक गरिएको सोही समारोहबीच कवि सुनारलाई प्रतिष्ठानकातर्फबाट विशेष सम्मानसमेत गरिएको थियो । विगत १२ वर्षदेखि प्रतिष्ठानले सञ्चालन गर्दै आएको कृष्ण भजन प्रतियोगितामा पुरस्कार प्रायोजन गरी पु¥याएको कदर गर्दै प्रतिष्ठानले सो अवसरमा सम्मानसमेत अर्पण गरेको हो ।
समारोहमा डा. कालु शर्मा सुवेदी, प्रा.डा. निर्मल लामिछाने, वडा नं. ५ का पूर्व अध्यक्ष धनबहादुर नेपाली, साहित्यकारहरू ताराप्रसाद तिमिल्सिना, नेत्र बानियाँ, शिव त्रिपाठी, पुष्पराज तिमिल्सिना, मोहनप्रसाद पौडेल, अग्निप्रसाद शर्मा, सुवास अधिकारी, सुनिता देवकोटा अधिकारी, लक्ष्मी देवकोटालगायतले आफ्ना धारणा तथा रचनाप्रस्तुत गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष हरिबहादुर बरुवालको अध्यक्षता, सचिव दीपेन्द्र बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा वरिठ उपाध्यक्ष दुर्गादेवी बस्नेतको स्वागत मन्तव्य रहेको थियो ।