सुनाखरी न्युज/ काठमाडौं । किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ ।
ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ । किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) सङ्कलन गरी ल्याउने गर्दछ ।
दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहिआएको छ । सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्ने गरेको किरात याक्थुङ चुम्लुङ शाखा ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङबोले बताउँनुभयो । मेन्याङबोका अनुसार सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मीठो–मसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासि बन्दुक पड्कन्छन् । थाल, झ्याम्टा, नाङ्लो र ढोल बज्छन् । प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवा–युवतीले घरमूली बूढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराबतत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गर्दछ ।
किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा अनिकाल वा दुःख–पीडालाई त्यसरी पर्वको रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् ।
यसैगरी, उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक–सांस्कृतिक विकृति–विसङ्गति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भाव पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमूलीले आग्रह गरेका हुन्छन्अर्थात् अब त नयाँ अन्नबाली र फलफूल पाके । यसकारण, अब हामी कम्तीमा छ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौँ भनेर रमाउने गरेको किरात धर्मका जनकारको भनाइ छ ।
आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी÷जनजाति पूर्वका किरात लिम्बू, राई तराईका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई सिसेक्पा तङनामको रुपमा मनाउँदै आएको किरात साहित्य उथान सङ्घका अध्यक्ष ज्ञानु फुरम्बो (चरपे)ले बताउनुभयो । किरातीले सिसेक्पा तङनाम (साउनेसङ्क्रान्ति) र कक्फेक्वा तङनाम (माघे सङ्क्रान्ति)लाई महान् पर्वको रूपमा मनाउने फुरुम्बुले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सिसेक्पा तङनाममा हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ, भनी मनाउने गरेको छ भने माघे सङ्क्राान्तिलाई वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ भनी मनाउने गर्दछन् ।” कक्पेक्वा तङनाम मरिन्छ कि भनेर मनाउने हो भने सिसेक्पा तङनाम लौ बाँचियो भनेर मनाउने गरेको फुरुम्बोले बताउनुभयो ।रासस