२०८१ पुष २७ , शनिवार

बाँकेमा बढ्दैछन् क्यान्सरका रोगी

रुपनी जिएम /जानकी । “मैले मेरो जेठानीलाई क्षयरोगले दिएको पीडा देखेपछि पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएकी हुँ ।” यो भनाइ हो, नेपालगञ्ज उपमहानगरपालिका–१० पासाङ्ल्यामु मार्गकी कुसु दुगडको । क्षयरोग लागेकी जेठानीलाई पीडामा छटपटिएको देखेर क्यान्सर लाग्यो भने त आफूलाई योभन्दा बढी पीडा दिन्छ भन्ने डरले आफूले पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएको उहाँको भनाइ छ । कुसुमले खोपको सबै मात्रा पूरा गर्नुभएको छ ।

 

कुसुमले मात्र नभई उहाँका दुई छोरीले पनि पाठेघरविरुद्धको क्यान्सरको खोप लगाइसक्नुभएको छ । कुसुमले मात्र नभई उहाँका दुई छोरीले पनि पाठेघरविरुद्धको क्यान्सरको खोप लगाइसक्नुभएको छ । छोरीले नै आफूलाई खोप लगाउन सुझाव दिएको बताउने कुसुमले अरु महिलालाई पनि पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउन सुझाव दिनुभयो । ‘‘क्यान्सर लागेर धेरै पैसा खर्च गर्नुभन्दा क्यान्सरविरुद्धको खोप लगाएर जीवनलाई स्वस्थ राख्नु नै उत्तम हुन्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘खोप महङ्गो भए पनि हाम्रो आर्थिक अवस्थाले भ्याउँथ्यो त्यसैले हामी तीन आमा छोरीले नै यो खोप लगाएका छौं ।’

 

कुसुम जस्तै पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउनु भएकी प्रस्तुती शर्मा आफैँमा एक डाक्टर पनि हुनुहुन्छ । उहाँले पनि आफ्नो स्वाथ्यको ख्याल गरेर पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउनु भएको हो । उहाँका अनुसार सबै डाक्टरले यो खोप लगाउँछन् भन्ने हुँदैन । कतिपयलाई यो खोपका बारेमा जानकारी छैन भने जानकारी भएकालाई पनि खोपको शुल्क महङ्गो भएको हुनाले पनि उक्त खोप लगाउनबाट बञ्चित रहेको डा. प्रस्तुतिको भनाइ छ । डा. शर्माले नेपालगञ्ज मेडिकल केलेज नेपालगञ्जमा कार्यरत हुँदा आफूसँगै आमा र तीन जना आफन्तलाई पनि पाठेघरविरुद्धको क्यान्सरको खोप लगाउन सल्लाह दिनुभएको छ ।

सरकारले सन् २०१५ देखि २०१६ मा पाठेघरको क्यान्सरविरुद्ध लगाइने खोपको कास्की र चितवनमा आरम्भ गरेको थियो । अहिले उक्त खोपलाई निजी अस्पतालले बिरामीको माग बमोजिम लगाउने गरेका छन् । त्यसरी खोप लगाउनेमध्ये बाँकेको नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पताल पनि एक हो । अस्पतालका बालरोग विशेषज्ञ डा रोमा बोराका अनुसार अहिलेसम्म सात जनाले मात्र उक्त खोप लगाएका छन् ।

 

खोप लगाउनको लागि प्रतिव्यक्ति रु १० हजार खर्च हुने भएकाले पनि यो खोप लगाउन जो कोहीको क्षमताले नसक्ने डा. बोराले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘खोप महङ्गो छ । लगाउने इच्छा भएपनि खोपको मूूल्यकै कारण लगाउन सकिरहेका छैनन् ।’’ उहाँले भन्नुभयो, ‘‘समयमै लगाउन सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ भन्ने जनचेतनाको पनि कमीकै कारण हुन सक्छ खोपप्रति यहाँका जनताको चासो खासै देखिएको पाइँदैन ।’’

खोपको बारेमा थाहा पाएर लगाउने इच्छा भएकाहरुलाई बाहिरबाट खोपको व्यवस्था गरी लगाउने गरेको डा बोराको भनाइ छ । उहाँका अनुसार १० वर्षदेखि ४९ वर्षसम्मका महिला तथा बालबालिकाले यो खोप लगाएका छन् । १५ वर्षभन्दा तलका उमेर समूहले छ महिनाको अन्तरालमा दुई पटक खोप लगाउनुपर्छ भने १५ वर्षभन्दा माथिका महिलाले छ महिनाकै अन्तरालमा तीनपटक खोप लगाउनु पर्छ । एक पटक खोप लगाएपछि अर्को पटकको खोपलाई व्यवस्थापन गर्न चुनौती नै हुने गरेको डा बोराले बताउनुभयो ।

 

परीक्षणको समयमा पाठेघरको क्यान्सर कुन अवस्थामा छ भन्ने जानकारी लिन सकिन्छ । समयमा नै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेमा रोग निको हुन्छ । सानै उमेरमा विवाह गरेमा, असुरक्षित र सानै उमेरमा यौन सम्बन्ध राखेमा, धेरै बच्चा जन्माएमा, धेरै गर्भधारण गरेमा यो रोग लाग्ने बढी खतरा रहने भेरी अस्पतालका स्त्री क्यान्सर रोग विशेषज्ञ कृतिपाल सुवेदीले बताउनुभयो ।

 

धुमपान गरेको महिलालाई पनि पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुने उहाँको भनाइ छ । यस्तै पाँच वर्षभन्दा बढी हर्मोनयुक्त परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेका महिलामा पनि क्यान्सरको जोखिम रहने डा. सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पतालमा दैनिक दुईदेखि तीन जनासम्म पाठेघरका क्यान्सरका बिरामी परीक्षणका लागि आउने गरेका छन् ।

 

त्यसैगरी बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालमा पनि पाठेघरको मुखको क्यान्सरका विरामीको सङ्ख्या पछिल्लो समय बढ्दै गएको स्त्री रोग विभागका प्रमुख एवं क्यान्सर सर्जन डा इन्द्रनील घोषले बताउनुभयो । “पहिलो, दोस्रो र तेस्रो चरणका सबै प्रकारका क्यान्सरका बिरामीहरु पछिल्लो समय अस्पतालमा परीक्षण र उपचारका लागि आइरहेका छन्”, उहाँले भन्नुभयो, “धेरैजसो बिरामी त तेस्रो चरणमा आउने गर्छन् । त्यस्त बिरामीका लागि शल्यक्रिया नै अन्तिम विकल्प हुन्छ ।”

 

डा घोष पाठेघरको क्यान्सरविरुद्धको खोपको व्यवस्था नेपाल सरकारले नै गरेको भए महिलाको पाठेघरको क्यान्सरपीडित हुनबाट बच्न सकिने धेरै सम्भावना रहने बताउनुहुन्छ । खोप महँगो भएकै कारण निःशुल्क गर्न नसके पनि थोरै शुल्कमा यो खोपको व्यवस्था सरकारले गर्नु पर्ने उहाँको भनाइ छ । उहाँका अनुसार खजुरा अस्पतालमा प्रत्येक महिना पाँचदेखि छ जनासम्म पाठेघरको क्यान्सरका लागि उपचारका लागि जाने गर्दछन् । अस्पतालको तथ्याङ्कअनुसार २४ देखि ६५ वर्षसम्मका क्यान्सर पीडितहरु रहेका छन् ।

 

उहाँले भन्नुहुन्छ, “ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को संक्षमणले हुने क्यान्सर हो । यो सङ्क्रमणले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्ने गर्छ ।” सङ्क्रमण भएको आठदेखि १० वर्षपछि क्यान्सरमा परिणत हुन्छ । महिलालाई पाठेघरको मुखमा क्यान्सर भएन नभएको बारे ‘प्याप स्मेयर टेस्ट’ अर्थात गर्भाशय श्राव परीक्षण गरेर मात्र पत्ता लगाउन सकिन्छ । यो विधि पाठेघरको कोषिकामा सामान्य अवस्थामा रहे नहरेको पत्ता लगाउने एउटा सरल र छरितो विधि भएको डा घोषको भनाइ छ ।

 

पहिलो चरणमा नै औषधि उपचार गरे निको हुने पाठेघरको क्यान्सरलाई तेस्रो चरणमा पु¥याएर शल्यक्रिया नै गर्नुपर्ने कारण चेतनाको कमी भएको डा घोषको भनाइ छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को सङ्क्रमणको कारण हुन्छ । महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा धेरै पाठेघरको मुखको क्यान्सर भएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ ।

 

सङ्गठनको तथ्याङ्कअनुसार यो रोगबाट वर्षैनी दुई लाख ७० हजारभन्दा बढी महिलाको अकालमै मृत्यु हुने गरेको छ । नेपालमा वार्षिक १० हजारको हाराहारीमा पाठेघर मुखको क्यान्सरका नयाँ बिरामीहरु थपिने गरेको देखिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले जनाएको छ । यसमा ८५ प्रतिशत कम विकसित अर्थात् नेपाल जस्तो देशहरु पर्दछन् । पाठेघरको मुखमा एचपिभी भाइरस प्रवेश गरेको छ भने यौन सम्पर्क सुरु भएपछि असर देखिन सुरु हुन्छ । रासस