२०८१ मंसिर ११ , मंगलबार

वायुसेवा कम्पनीले अब जहाज भित्रै पसल राख्न पाउने

plane

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ‘अनबोर्ड ड्युटी पेड सप’ सञ्चालन गर्न सक्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडानका बखत वायुयान भित्र यस्तो पसल सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले अनबोर्ड ड्युटी पेड सप सञ्चालन कार्यविधि जारी गरेको छ । यस कार्यविधि अनुसार वायुसेवा कम्पनीले अनुमति लिएर जहाज भित्रै पसल सञ्चालन गर्न सक्नेछन् ।

यसबाट वायुसेवाको अतिरिक्त आम्दानी बढ्ने, वायुसेवालाई थप सवल, सुदृढ र दीगो बनाउने तथा राजस्व संकलन र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।

 

नेपाल एयरलाइन्सले दुई दशक अगाडिसम्म यस्तो पसल राख्दै आएको थियो । भन्सार ऐन आएपछि सो ऐनको प्रावधानमा टेकेर २०६० को दशकपछि यस्तो पसल राख्न बन्द गराइएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

मन्त्रालयका अनुसार यस कार्यविधिमा टेकेर वायुसेवा कम्पनीले उडानरत विमानमा करयुक्त सामग्री बिक्री गर्ने पसल राख्न सक्ने भएका छन् । नेपालबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरले नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

 

वायुयान भित्र पसल राख्न चाहने वायुसेवा कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिनु पर्ने भएको छ । जसका लागि मन्त्रालयका सेवा सञ्चालनको आर्थिक तथा प्राविधिक सम्भाव्यता सहितको निवेदन पेश गर्नुपर्ने भएको छ । जसमा तोकिएका शर्त पुरा गरी आन्तरिक सञ्चालन कार्यविधि बनाएर सो समेत मन्त्रालयलाई बुझाउनु पर्ने कार्यविधिमा उल्लेख छ ।

 

कार्यविधि अनुसार प्रत्येक उडानमा बिक्रीका लागि चलान गरिएका सामग्री सिल गरी नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा तोकिए अनुसार सुरक्षा जाँच गराउनु पर्ने भएको छ ।

यस्तो सामान राख्ने गोदम सम्बन्धित विमानस्थलले तोकिदिने भएको छ । गोदामको सुरक्षाको जिम्मेवारी विमानस्थलले तोकिए अनुसार हुने भएको छ ।

 

मन्त्रालयका अनुसार पसल सञ्चालन गर्ने वायुसेवा कम्पनीले बिक्री गर्ने सामग्रीको सूची सम्बन्धित अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट सेवा सञ्चालन गर्नु अगाडि नै पूर्वस्वीकृति लिनु पर्ने प्रावधान छ । हरेक उडानमा बिक्रीका लागि चलान गरिने सामानको विवरण, बिक्री वितरणको विवरण तथा यसरी बिक्री भएको आम्दानीको विवरण सम्बन्धित वायुसेवाले जुनसुकै बखत पेश गर्न सक्ने गरी अध्यावधिक गर्नुपर्ने भएको छ ।

 

आकासमा किनबेच हुने यस्तो सामानको आधिकारिक बिल वायुसेवा कम्पनीले जारी गर्नु पर्ने भएको छ । बिक्री गर्ने सामानको गुणस्तर र यससँग सम्बन्धित उपभोक्ता हक हित तथा अधिकारका विषयमा वायसेवा कम्पनी जिम्मेवार हुनु पर्ने भएको छ ।