२०८१ मंसिर ५ , बुधवार

मानिसको जीवन चक्र :- जीवन विज्ञान बाट

गाेपी ढकाल ।  श्रीमद्भागवत गीतामा उल्येखित कालजयी सन्देश एक ऐतिहासिक युद्धसंग मात्र सम्बन्धित छैन अपितु सत्कर्म र दुष्कर्मका बिचमा हुने ब्रह्माण्डीय संघर्ष हाे जसलाई महाभारतकाे लढाई भनिएकाे छ ।

 

महाभारतकाे लढाई भनेकाे मान्छेको मन , कुरूक्षेत्र भनेकाे मान्छेको शरीर , पाँच पाण्डव भनेकाे पाँच इन्द्रिय शक्ति र द्राैपदी भनेकाे मान्छेको प्राणशक्ति हाे । प्राणशक्ति , इच्छाशक्ति , धैर्यशक्ति , आध्यात्मिक शक्ति र विवेकशक्ति लाई सत्य , चैतन्य र सजगताका साथ आत्मसाक्षात्कार गर्नु भनेकाे श्रीकृष्ण हाे जसकाे इन्द्रिय र चेतना ( मन अथवा मानस ) मा यस्ताे आत्मशक्ति हुन्छ । दुर्याेधन भनेकाे मन भित्रकाे अहं र अज्ञान हाे जसका कारण मान्छे विलासप्रिय , भाेगलिप्त र स्वार्थी भावनाकाे चक्रमा प्रभावित भएर आत्म- विनाशकारी आदतकाे दास बन्दछ ।

महर्षि व्यासद्वारा रचित महाभारतकाे लढाई अतीत द्वापरयुगमा मात्र हाेइन … मानव जगत रहेसम्म अनन्त सम्म चलिरहने छ । श्रीमद्भागवत गीतामा वर्णन कुरूक्षेत्र भित्रकाे महाभारत भनेकाे मान्छेकाे मन हाे र त्याे मनभित्र परमात्मा र जडपदार्थ , धर्म र अधर्म , सच्चाई र बुराई , आत्मा र शरीर , जीवन र मृत्यु , ज्ञान र अज्ञान , याेग र आलस्य , प्रेम र घृणा , शान्ति र क्राेध , स्वास्थ्य र राेग , अपरिवर्तनशीलता र क्षणभंगुर , आत्मनियन्त्रण र प्रलाेभन अनि विवेकशक्ति र कामेन्द्रिय वासना बिचकाे लढाई प्रत्येक क्षण चलिरहेकै हुन्छ ।
त्यस्ताे महाभारत युद्धका लागि शरीर भनेकाे रथ हाे भने त्यसकाे सारथि मान्छेकाे बुद्धि । मानव आत्मालाई रथकाे स्वामी मानिन्छ , रथ तान्ने घाेडा भनेकाे मान्छेकाे इन्द्रिय हाे भने मनलाई घाेडाकाे लगाम भनिन्छ ।

पाँच इन्द्रिय , पाँच कर्मेन्द्रिय र पाँच ज्ञानेन्द्रिय हरूलाई समन्वय गरि एकताकाे सुत्रमा राख्ने शरीरकाे प्राणशक्ति ( कुल- कुण्डलिनी ) भनेकाे पाँच पाण्डवकी साझा पत्नी द्राैपदी हाे । पञ्चतत्व ( पृथ्वी , वायु , अग्नि , जल र आकाश ) ले बनेकाे शरीर भनेकाे नै पाँच पाण्डव हाे । जसलाई शरीर भित्रकाे ठाेस, आकाशीय , आग्नेय , तरल र गैंसीय तत्व भन्दै बुझ्नु पर्दछ । निश्छलता, निष्कपटता , निर्वैरता , उदारता र सत्यता भनेकाे युधिष्ठिर र साहस सहितकाे हृदयकाे प्रेमल भावना लाई भीमसेन भनेकाे हाे । आत्मनियन्त्रण , चतुरार्थ र पुरूषार्थ सहितकाे वीरतालाई धनुर्धर अर्जुन , लक्ष्यसंग एकाकार सहितकाे साैन्दर्य भनेकाे नकुल र जनसेवामा समर्पित बुद्धिमान भनेकाे सहदेव हाे ।

नियम , आचरण र सत्यकाे पालन गर्दा ताप सहनुपर्ने हुनाले महाभारतले वनवास र गुप्तवास भनेपनि आत्मशक्ति सुदृढ गर्न धैर्यशक्ति चाहिन्छ भनेकाे हाे । त्यसैले आफ्नै जीवन चक्र भित्र धर्मकाे जय र अधर्मकाे पराजयका लागि धृतराष्ट्र , दुर्याेधन , दु:शासन र शकुनि जस्ताे बनेर हाेइन ……. आफ्नाे मनलाई पाण्डव जस्तै आचरणमा हिडाउन सके पाण्डवलेझैं मानव शरीरले पनि पराजयकाे स्वाद कहिल्यै पनि चाख्नु पर्दैन भनेकाे हाे ।

धर्म र सत्यकाे मार्गमा हिडे तपाई नै पाँच पाण्डवकाे युधिष्ठिर हाे अनि प्राणनियन्त्रक हृदयकाे प्रेमल हुनुहुन्छ भने भीमसेन हाे । साहसमा आत्मनियन्त्रण सहितकाे वीरता भए तपाई अर्जुन हाे , तपाईंको विचार र भावना कुण्ठा रहित साैन्दर्यमय छ भने नकुल हाे अनि निष्कपट सहितकाे उदार मनले जनसेवामा समर्पित हुनुहुन्छ भने तपाई नै महाभारतकाे सहदेव हो ।

जीवन विज्ञानकाे चक्र विज्ञानमा विशुद्धीचक्र सम्बन्धि पाँचौं दिनकाे प्रयाेगशालामा सिकाइने आचरणकाे परिपालन भयाे भने त्याे शरीरमा भगवान शिवकाे वास हुन्छ भनिएकाे छ । किन्तु कर्म र उपासनाकाे पालना भएन भने अज्ञान नामक राक्षसले डेरा जमाएर बस्ने छ ।
विशुद्धीचक्र भनेकाे पाँच पाण्डवमा युधिष्ठिर हाे । त्यसैगरी अनाहत चक्र भनेकाे भीम , मणिपुर चक्र भनेकाे अर्जुन , स्वाधिष्ठान चक्र भनेकाे नकुल र मूलाधार चक्र भनेकाे सहदेव हाे ।

 

मान्छेकाे हरेक चक्रमा भगवानकाे वास हुन्छ तर कर्म र कर्तब्य सहितकाे जीवन पद्धतिलाई नित्य- सचेत र नित्य – नवीन बनाउन सकिएन भने त्यहाँ राक्षस आएर वास गर्दछ । त्यसैले भन्दैछु — जीवन विज्ञान भनेकाे ज्ञानकाे प्रयाेगशाला मात्र हाेइन …. नवीन जीवनशैली र सृजनात्मक जीवन स्पन्दनका लागि शाश्वत सत्य प्रज्ञानकाे आकाशगङ्गा नै हाे । क्रमशः ……
( जीवन विज्ञानकाे अनुयायी समेत रहेका यसका लेखक राप्रपा केन्द्रीय सचिवालय सदस्य हुन )