सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । आइतबार बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारीत गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
मौद्रिक नीतिमा ४ प्रतिशत रहेको सीआरआरलाई यथावत राख्दै घट्दो मुद्रास्फीतिलाई मध्यनजर गर्दै नीतिगत दरलगायत ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई घटाउन सक्ने अवस्था रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
राष्ट्र बैंकले सिथिल अर्थतन्त्रलाई केही चलायमान बनाउन मौद्रिक नीतिको कार्यदिशा केही खुकुलो बनाए पनि निजी क्षेत्रमा जाने कर्जा उच्च दरमा विस्तार गर्ने पक्षमा छैन । खस्कँदो कर्जाको गुणस्तरलाई मध्यनजर गर्दै कर्जा विस्तार भन्दा पनि असुली गर्नुपर्ने गभर्नर अधिकारीले बताउँदै आएका छन् ।
मौद्रिक नीतिले निजी क्षेत्रमा जाने कर्जाको विस्तार करिब १० प्रतिशतको नजिक हुने लक्ष्य लिनसक्ने स्रोतको दाबी छ ।