२०८१ मंसिर ९ , आइतवार

विदेशबाट फर्किएर जडीबुटी खेतीमा रमाउँदै पुर्जा

सुनाखरी न्युज  / काठमाडौं –  म्याग्दीको धवलागिरि गाउँपालिका(४ बोवाङका ४० वर्षे लुद्रबहादुर पुर्जा यतिबेला परम्परागत खेती छाडेर जडीबुटीमा रमाउन थाल्नुभएको छ । लामो समय विदेशी भूमिमा काम गरेपछि उहाँ फर्किएपछि परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटी र ओखरखेती गर्नुभएको हो । “विदेशमा गर्ने दुःख यहीँ गरेर स्वरोजगार हुने लक्ष्यका साथ जडीबुटी र ओखरखेती सुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “हाल कूल १३ रोपनी पाखोबारीमा ओखर र सतुवाखेती गरिरहेको छु ।”

 

हाल लालीगुराँस आधुनिक कृषि फार्म स्थापना गरी काम गरिरहनुभएका पुर्जाले रोजगारीका लागि छ वर्ष साउदी र तीन वर्ष कतारमा काम गर्नुभयो । टर्कीबाट प्रतिगोटा रु एक हजार सात सय ५० का दरले बिरुवा किनेर तीन हजार दाँते जातको ओखरका बिरुवा रोपेको पुर्जाको भनाइ छ । चार रोपनीमा ताप्लेजुङ र म्याग्दीको तोरीपानीबाट ५० हजार गाना सतुवाको बिरुवा ल्याएर लगाउनुभएको हो । समुन्द्री सतहदेखि करिब दुई हजार तीन सय मिटर उचाइमा रहेको बोवाङको चिसो हावापानी भएको भूगोल सतुवा र ओखरखेतीका लागि अनुकूल मानिन्छ । बोवाङको जङ्गलमा प्राकृतिकरुपमा पनि सतुवा उत्पादन हुँदै आएको थियो । पुर्जाको फार्ममा हाल २० हजार सतुवाका बिरुवा तयार भएका छन । सतुवाको बिरुवाको बजार मूल्य प्रतिगोटा रु ४७ पर्छ । सतुवाको बजार मूल्य हाल प्रतिकिलो रु सातदेखि आठ हजार छ । तीन वर्षअघि प्रतिकिलो सतुवाको मूल्य रु २५ हजार थियो ।

 

“करिब ५० हजार गानाबाट पाँचदेखि छ क्विन्टल सतुवा निकाल्ने भए पनि बजार भाउ राम्रो नभएकाले उत्खनन गरेको छैन”, उहाँले भन्नुभयो, “राम्रो बजार भाउ पाए सतुवा बिक्री गर्नेछु ।” सतुवा र ओखरखेती गर्नुअघि पाखोबारीमा जौ, उवा, गहुँ, मकै र कोदोखेती हुने गरेको थियो । परम्परागत खाद्यबाली खेती गरेर लागत पनि उठाउन नसक्ने अवस्था भएपछि विकल्पमा जडीबुटी र ओखरखेती गरेको पुर्जाले भन्नुभयो । पुर्जालाई कृषि ज्ञानकेन्द्रले फार्मको घेराबार गर्न अनुदान सहयोग गरेको थियो । काठ र फलामको तारले फार्म घेराउ गर्ने पुर्जाको तयारी गर्नुभएको छ । यसैगरी सतुवाको बिरुवा भएको पल्टमा प्लास्टिकको टनेल बनाउन सकेमा तापक्रम सन्तुलित बनाउन, हिउँ, असिना र रोगकिराबाट बचाउन सकिने पुर्जाको अपेक्षा छ । औषधि बनाउन प्रयोग हुने सतुवा पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिषले विष सेवन गरेको बेलामा प्रयोग गर्ने चलन छ । रासस