२०८१ पुष २६ , शुक्रवार

७ भाषामा तयार भयो बन्दीपुर गाउँपालिकाको १७ पर्यटकीय गन्तव्य

सुनाखरी न्युज/ काठमाडौं । बन्दीपुर गाउँपालिकाको १७ पर्यटकीय गन्तव्यको सूचना नेपाली सहित विभिन्न ८ भाषामा तयार भएको छ । गाउँपालिकाले मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना तयार गरेको हो ।

ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा क्यूआर स्क्यान गरी पढ्न तथा सुन्न सकिने भएको छ । बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको गाउँपालिका प्रमुख सुरेन्द्र थापाले बताए ।मंगलबार बन्दीपुर गाउँपालिकाको कार्यालय प्राङ्गणमा एक समारोहकाबीच मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सूचना गाउँपालिका अध्यक्ष थापालाई हस्तान्तरण गरेका छन् ।

गन्तव्यबारे जानकारीहरू नेपाली, अङ्ग्रेजी, चाइनिज, जापनिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ ।बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्म पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको हो ।

डिजिटल सूचना तयार भएसँगै अब बन्दीपुर गाउँपालिकाका ती पर्यटकीय गन्तव्यहरूमा पर्यटकले सहज रूपमा भ्रमण र जानकारी राख्न सक्ने गाउँपालिकाले जनाएको छ ।