सुनाखरी न्युज /काठमाडौं – होटलमा मृतावस्थामा फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको शव परीक्षण गण्डकी अस्पताल पोखरामा गरिने भएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँको निर्देशनमा उनको शव परीक्षणको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।
बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । सोमबार राति मृत फेला परेको खबर सार्वजनिक भए पनि प्रहरीले मङ्गलबार साँझ उनको शवपरीक्षणको लागि धौलागिरि अस्पताल बागलुङ ल्याएको थियो । प्रहरी प्रधान कार्यालयले पोखरा पठाउन निर्देशन दिएकाले बागलुङमा शवपरीक्षण नगरी पोखरा पठाइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।
इञ्चार्ज पौडेल मृत फेला परेकोे होटलका सञ्चालक आशा कुँवर र उनका छोरा विनोदलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । आजै उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । “इञ्चार्ज पौडेलको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेका हौंँ” उहाँले भन्नुभयो “पौडेलले लगाएको सुनको सिक्र्री होटलको भन्छा कोठामा फेला परेको छ ।” घटना शङ्कास्पद देखिएको जनाउँदै प्रहरी उपरीक्षकको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको थियो ।
आशा होटल एण्ड खाजा घरमा प्रहरी इञ्चार्ज पौडेल मृत फेला परेका थिए । प्रहरीले घटनाका विषयमा अनुसन्धानपछि मात्रै वास्तविकता बताउने जनाएको छ । प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “अनुसन्धान भइरहेकाले थप शङ्का गरिएका विषयमा अहिले नै केही भन्न मिल्दैन ।”