२०८१ कार्तिक १६ , शुक्रवार

नाइजरमा सैन्य विद्रोह, संविधान निलम्बनको घोषणा

सुनाखरी न्युज/ काठमाडौं । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ ।

सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छभने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ । सेनाले देशको सिमाना बन्द गरेको बताएको छ ।

राजधानी नियामेस्थित राष्ट्रपतिको निवास र कार्यालयसम्म जाने बाटो बन्द गरिएको छ भने बन्दी बनाइएका राष्ट्रपतिलाई रिहा गर्न सेनाले अस्वीर गरेको छ । गए राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्मका लागि ‘कफ्र्यु’ आदेश जारी गरिएको छ ।

“हामी, रक्षा र सुरक्षा बलहरूले।।। राष्ट्रपति बाजुमको शासनको अन्त्य गर्ने निर्णय गरेका छौं,” अन्य नौ जना वर्दीधारी सैनिकबाट घेरिएका कर्णेल अमाडो अब्द्रामानेले बुधबार राति टेलिभिजन सम्बोधनमार्फत घोषणा गरे । विश्व तथा क्षेत्रीय नेताहरूले बाजुमलाई रिहा गर्न आह्वान गरेका छन् । दुई वर्ष अघि उनले नाइजरको सत्ता सम्हालेका हुन् । छिमेकी बेनिनका राष्ट्रपति प्याट्रिस टालोन मध्यस्थता प्रयासका लागि नियामेतर्फ प्रस्थान गर्ने तयारीमा रहेको पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदायले जनाएको छ । राष्ट्रपति र उनको परिवार सकुशल रहेको सेनाले बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले सैन्य विद्रोहको निन्दा गर्दै राष्ट्रपति बाजुमलाई निःशर्त तत्काल रिहा गर्न आह्वान गर्नुभएको छ । अफ्रिकी सङ्घ र युरोपेली सङ्घले पनि सैन्य विप्लवको विरोध गर्दै राष्ट्रपति बाजुमको रिहाईको माग गरेका छन् । रासस