सुनाखरी न्युज /काठमाडौं – बेँसीशहर नगरपालिका(८ शेरास्थित बस टिकट काउन्टर नजिकै ओरालोमा रोकेर राखेको बस एक्कासी गुडेर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । स्टार्ट अवस्थामा रहेको ना ५ ख ४०८१ नम्बरको बस रोकेर चालकले यात्रु बोलाउन थालेका थिए । त्यत्तिकैमा ३० मीटरसम्म गुडेको बस धन्न पाखुरीको रुखमा रोकिएकाले ठूलो दुर्घटनाबाट जोगिएको हो । तर छ जना यात्रु घाइते भएका छन । एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
खोटाङ घरभई हाल तनहुँको बाइसजाँगर बस्ने ३० वर्षे बस चालक हेमन्त तामाङलाई जिल्ला प्रहरी कार्यालय लमजुङले नियन्त्रणमा लिएको छ । डुम्रे–बेसीशहर चल्ने उक्त बस आफैँ गुडेर ३० मिटर पर सडक नजिकैको पाखुरीको रुखमा अड्किएको चालकले बताएका छन् ।अन्य ५ जना लमजुङ अस्पतालमा सामान्य उपचार गरी घर फर्किसकेका छन् । गम्भीर घाइते गुरुङलाई उपचारका लागि चितवन लगिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश श्रीमलले बताए । घाइतेको नाक, मुख र शरीरको अन्य भागमा गहिरो चोट लागेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार बिहीबार दिउँसो साँढे २ बजेतिर बस दुर्घटना भएको थियो । उक्त बसमा १२ जना यात्रु रहेको र गुडेर खसेपछि रुखले रोकेकाले बढी क्षति हुन नपाएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक खोटाङ घर भई हाल तनहुँको भानु नगरपालिका – ९ बाइसजाँगर बस्ने ३० वर्षीय हेमन्त तामाङलाई नियन्त्रणमा लिएको छ ।