सुनाखरी न्युज/ काठमाडौं ।
गण्डकी प्रदेशअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा कार्यान्वयनमा ल्याएका अधिकांश योजना अधुरा छन् । मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत गत आवमा कार्यान्वयनमा ल्याएका २१ योजनामध्ये २०८०/८१ मा आठलाई मात्र निरन्तरता दिएको छ ।
“म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको बेंसीगाउँदेखि नारच्याङ झरना पुग्न करिब एक किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ”, नारच्याङ झरना पदमार्ग योजनाअन्तर्गत उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रकाश फगामीले भन्नुभयो, “गत वर्ष पर्यटन कार्यालयको सहयोगमा एक सय ५० मिटर पदमार्ग निर्माण गरिएको हो ।” चालु आवमा उक्त योजनाका लागि बजेट विनियोजन नभएकाले पदमार्ग निर्माणको काम अधुरो बनेको उहाँले बताउनुभयो ।
झरना अवलोकन गर्न आउने पर्यटकलाई सहजरुपमा आवतजावत होस् भन्नका लागि विनियोजित बजेटले पदमार्ग निर्माण गरिएको भन्दै अध्यक्ष फगामीले बजेट अभावका कारण यस वर्ष काम अधुरो रहेको बताउनुभयो । “बजेट विनियोजन भएका आधारमा गत आवमा डेढ सय मिटर मात्र पदमार्ग बनायौँ”, उहाँले भन्नुभयो, “थप सात सय ५० मिटर पदमार्ग बनाउनुपर्ने छ । यस वर्ष बजेट विनियोजन नभएकाले सुरु भएको योजना अलपत्र परेको छ ।”
‘मसिनाढुङ्गा–थाकनपोखरी पदमार्ग योजना’का लागि गत आवमा रू १५ लाख बजेट विनियोजन गरिएकामा यस वर्ष बजेटविहीन बनेको योजनाका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । “बेनी नगरपालिका–६ अन्तर्गत मसिनाढुङ्गा–थाकनपोखरी जोड्ने उक्त योजनाअन्तर्गत गत वर्षको बजेटले तोकिएको परिणामको काम भए पनि पूर्णता पाएको छैन”, उहाँले भन्नुभयो, “यस वर्ष बजेटले निरन्तरता नपाउँदा निर्माणाधीन पदमार्ग अलपत्र बनेको छ ।”
विस्तृत सर्वेक्षणविना योजनाका लागि बजेट विनियोजन गरिएको भन्दै सुरु गरिएका पूर्वाधार निर्माणका योजनालाई निरन्तरता नदिँदा अधिकांश अलपत्र परेका पौडेलले बताउनुभयो । अधुरा योजनाबाट नागरिकले लाभ लिन नसक्ने भएकाले निर्माणाधीन कामका लागि बजेटको निरन्तरता आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्माले बजेटले निरन्तरता नपाउँदा सुरु भएका योजनालाई पूर्णता दिन नसकिएको बताउनुभयो । “जति बजेट विनियोजन भएको थियो, त्यती बराबरको काम भए पनि योजनाले पूर्णता पाएका थिएनन”, उहाँले भन्नुभयो, “ चालु आवमा बजेटले निरन्तरता नपाउँदा धेरैजसो पर्यटकीय पूर्वाधार निर्माणसम्बन्धी योजना अधुरा भएका छन् ।”
प्रमुख शर्माका अनुसार गत वर्ष म्याग्दीका २० पर्यटकीयस्थलमा पदमार्ग, उद्यान, रेलिङ, भवनलगायत पूर्वाधार निर्माणका लागि रू एक करोड ९२ लाख विनियोजन भएकामा रू एक करोड ८८ लाख २२ हजार आठ सय ९८ खर्च भएको थियो । चालु आव २०८०/८१ म १८ योजनाका लागि रू एक करोड ५६ लाख विनियोजन भएको कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले यस वर्ष विनियोजन गरिएको बजेट घटेकाले पर्यटकीय पूर्वाधारका योजना पनि प्रभावित बनेका बताउनुभयो । “अति आवश्यक र पूर्णता दिनुपर्ने योजनाका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत समेट्ने प्रयास गर्छौं”, उहाँले भन्नुभयो, “अन्य स्रोत र कार्यक्रमबाट बजेट व्यवस्थापन गरेर सुरु भएका अधुरा योजनालाई पूर्णता दिन पहल गर्छौं ।”
रासस